
विराटनगर २२ फागुन । प्रधानमन्त्री कप क्रिकेट–२०८१ को छनोट प्रतियोगिताको सबै खेलमा विजयी हुँदै सुनसरी शीर्ष स्थानमा उक्लिएको छ ।
कोशी प्रादेशिक क्रिकेट संघको आयोजनामा भएको बिहीबारको अन्तिम खेलमा समेत जीत निकाल्दै ८ अंकका साथ सुनसरी शीर्ष स्थानमा उक्लिएको हो । वैजनाथपुरको क्रिकेट मैदानमा भएको अन्तिम खेलमा सुनसरीले उदयपुरलाई ५ विकेटले पराजित गरेको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको उदयपुरले निर्धारित ५० ओभरमा २४ दशमलव ४ बलको क्षतिमा सबै विकेट गुमाउँदै ५० रन बनाएको थियो । उदयपुरका लागि सुशान्त तिमल्सिनाले सर्वाधिक १७ रन बनाए । उदयपुरका लागि दीपकराज जोशीले सर्वाधिक ३ विकेट लिए ।
जीतका लागि ५१ रनको लक्ष्य पाएको सुनसरीले ९ दशमलव १ बलमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । सुनसरीका लागि सोनु मण्डलले सर्वाधिक १३ रनको योगदान दिए । सुनसरीका प्लेयर अफ दी म्याच प्रकाश कार्कीले सर्वाधिक ४ विकेट लिए । यसैगरी, मेरिवोन ज्वाला क्रिकेट मैदानमा बिहीबार नै भएको दोस्रो खेलमा मोरङले झापालाई ९ विकेटले पराजित गरेको छ । ४ मध्ये ३ खेलमा जित निकाल्दै ६ अंक जोडेर मोरङ दोस्रो भयो ।
झापा ४ मध्ये २ खेलमा जित निकाल्दै ४ अंक जोडेर तेस्रो स्थान ओगट्न सफल भयो । टस जितेर पहिला ब्याटिङ गरेको झापाले निर्धारित ५० ओभरमा ४३ दशमलव १ बलको क्षतिमा सबै विकेट गुमाउँदै १ सय १४ रन बनाउन सक्यो । झापाका भूपाल दंगालले सर्वाधिक ३९ रनको योगदान दिए । मोरङका श्रवण किस्कुले ३ विकेट लिँदा अमर यादवले पनि ३ विकेट लिए । जीतका लागि १ सय १५ रनको चुनौती पाएको मोरङले २९ दशमलव १ बलमा १ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।
मोरङका प्लेयर अफ दी म्याच सकिब हकले अविजित ५२ रन बनाउँदा मिनष थापाले अविजित ४७ रनको योगदान दिए । झापाका विपिनकुमार महतोले १ विकेट लिए । लिगको आधारमा खेलाइएको खेलमा मोरङ, झापा, सुनसरी, इलाम र उदयपुरसहित ५ टिमको सहभागिता थियो ।
छनोट खेलमा अंकका आधारमा क्रमशः शीर्ष स्थानमा रहने ३ टीमबीच आगामी चैत पहिलो हप्ता इलाइट कप खेलाइने कोशी क्रिकेट संघका अध्यक्ष सर्वजीत राज पाण्डेले जानकारी दिए ।