
विराटनगर २१ फागुन । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि आज विहान मतदान हुने भएको छ । निर्वाचन समितिले उम्मेदवारी विरुद्धको दावी विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनमा ढिलाई भएपछि मतदान एक दिन पछि सरेको हो ।
निर्वाचन समितिले अन्तिम नामावली प्रकाशनमा ढिलोगरि प्रकाशित गरेपछि मतपत्र छपाई लगायतका कारण मंगलबार मतदान संभव नभएको हो । आज मतपत्र छपाई मतपेटिका लगायतको तयारी सकेर भोली विहान साढे ७ वजेदेखि मतदान गर्ने गरि कार्यतालिका प्रकाशित गरिएको निर्वाचन कमिटिले जनाएको छ । तीन दिनको अधिवेशन २ दिन थप लम्विएपछि प्रतिनिधिहरु आक्रोशित भएका छन् । उनीहरुले निर्वाचन समितिको असक्षमताका कारण मतदान सरेको बताएका छन् ।
नयाँ नेतृत्व चयनका लागि पदाधिकारीमा समूहगत प्रतिष्पर्धा हुने भएको छ । संस्थापन समूहबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशीले उम्मेदवारी दर्ता गराएका छन् । संस्थापन इतर समूह (विनोद ढकाल) बाट अध्यक्षमा अजम्वर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा उषा झा र सन्तोष वान्तबाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचनबाट १६५ जना निर्वाचित हुने छन् ।
जिल्ला अधिवेशनबाट ७१ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार अधिवेशनमा ३ सय २५ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये ७१ जना निर्विरोध निर्वाचित भए भने ६३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । ५ पदाधिकारी सहित ९४ पदका लागि १ सय ९१ चुनावी मैदानमा रहेका छन् ।
प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार १ पटकमा २० जनाले मतदान गर्ने व्यवस्था मिलाइएको छ । उम्मेदवारको संख्या धेरै भएका कारण प्रत्येक मतदातालाई मतदान गर्न करिब १५ मिनेट लाग्ने अनुमान गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणना पार्टी कार्यालयमै गरिनेछ ।