जिसस मोरङको ९ वटै पदमा एमालेका उम्मेदवार विजयी

विराटनगर, ३१ जेठ । जिल्ला समन्वय समिति (जिसस) मोरङको ९ वटै पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी हुनु भएको छ । विराटनगरमा आज सम्पन्न निर्वाचनबाट एमालेको प्यानलै विजयी भएको हो ।

एमालेका उम्मेदवार अजम्बर राई प्रमुख र उषा झा उपप्रमुखमा २१-२१ मत ल्याएर विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिनु भयो । उहाँका अनुसार प्रतिस्पर्धी काङ्ग्रेसबाट प्रमुखको उम्मेदवार जितेन्द्र अग्रवाल र उपप्रमुख उम्मेदवार निलमकुमारी सरदारले १३÷१३ मत मात्रै ल्याउनु भएको छ । महिला सदस्यमा एमालेका उम्मेदवारहरु उमा नेपाली, उर्बसीकुमारी थारु र हरिमाया विश्वकर्मा विजयी हुनु भएको छ । नेपाली २३, थारु र विश्वकर्मा २१÷२१ मत प्राप्त गरेर निर्वाचित हुनु भएको हो ।

काङ्ग्रेसका तर्फबाट महिला सदस्यको उम्मेदवार रहनु भएकी गीताकुमारी विश्वकर्माले ११, जुमु खातुनले र मीनादेवी विश्वासले १३÷१३ मत पाएको सूचना अधिकारी बुढाथोकीको भनाइ छ । जिससको अन्य सदस्यमा एमालेका तुलसीप्रसाद घिमिरे, देवमणि कटुवाल र मित्रप्रसाद ढकाल निर्वाचित हुनु भएको छ ।

घिमिरे र ढकालले २२-२२ तथा कटुवालले २१ मत ल्याउनु भएको छ । अन्य सदस्यमा काङ्ग्रेसका उम्मेदवार इम्तियाज अन्सारीको १२ र कल्याण लामिछानेको १३ मत आएको छ । दलित÷अल्पसङ्ख्यकबाट सदस्यमा एमालेका चन्द्रबहादुर सरदार निर्विरोध निर्वाचित हुनु भएको छ ।

सूचना अधिकारी बुढाथोकीका अनुसार जिससमा निर्वाचित भएकाको शपथग्रहण भोलि बिहान १०ः३० बजेतिर राखिएको छ । विजयी भएकाहरुलाई शपथसँगै प्रमाणपत्र पनि प्रदान गरिने छ ।