एमाले मोरङ अधिवेशन : सहमतिमा नेतृत्व चयन गर्न नेताहरुको जोड

विराटनगर १७ फागुन । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशन आजदेखि विराटनगरमा शुरु भएको छ । तीन दिन सम्म चल्ने जिल्ला अधिवेशनको पहिलो दिन आज उद्घाटन शत्र सकिएको  छ ।
उद्घाटन कार्यक्रमका नेताहरुले सहमतिमा नेतृत्व चयन हुनुपर्नेमा जोड दिएका छन् । नेताहरुले पार्टीमाथि चौतर्फी घेरावन्दी भएको समयमा नेताहरु गुट–उपगुटमा विभाजित नभई सर्वसम्मतिमा नेतृत्व चयन गर्न सुझाव दिएका छन् । उनीहरुले सर्वसम्मत हुन नसकेको अवस्थामा समूहगत नभई व्यक्तिगत रुपमा प्रतिष्पर्धा गर्न सुझाव दिए ।

केन्द्रीय उपाध्यक्ष रामबहादुर थापा‘बादल’ले सहमतिमा नेतृत्व चयन गर्न आग्रह गर्नुभयो । पार्टीमाथि चौतर्फी घेरावन्दी भएको समयमा नेताहरु एकापसमा मिलेर सहमतिमा नेतृत्व चयन गर्न उहाँको आग्रह छ । उहाँले भन्नुभयो,‘ सहमति हुनै नसकेको अवस्थामा मात्रै व्यक्तिगत रुपमा प्रतिष्पर्धामा जानुहोला ।’ चिट बाँडेर, समूहगत प्रतिष्पर्धा नगरी नेतृत्व चयनमा उहाँको जोड छ । केन्द्रको सन्देश सहमतिमा नेतृत्व चयन होस् भन्ने भएका र सोही सन्देश लिएर मोरङ आएको उहाँले बताउनुभयो । पार्टी एक ढिक्का भएमात्रै मिसन ८४ सफल हुने उहाँको भनाई छ ।

उपमहासचिव प्रदीप ज्ञवालीले आन्तरिक जीवनमा लोकतन्त्रको उच्चतम अभ्यास गर्ने गरिएको बताउनुभयो । उहाँले पार्टी भित्रको लोकतन्त्र भनेको सर्वसम्मति पनि भएकोे बताउनुभयो । आन्तरिक प्रतिष्पर्धालाई तिक्तता बनाइयो भने पार्टीलाई अघि बढाउन नसकिने उपमहासचिव ज्ञवालीको भनाई छ । उहाँले भन्नुभयो, ‘कांग्रेससँग बसेर चिया खाने, माओवादीसँग बसेर लञ्च गर्न सजिलो र आफ्नै पार्टीका नेताहरूसँगै वस्न नसक्ने अवस्था नबनोस ।’

स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले सहमतिमा नेतृत्व चयनमा जोड दिनुभयो । उहाँले सहमति नभए निर्वाचन जान सकिने बताउनुभयो । सहमतिका नाममा लाद्ने काम नहुने बताउनुभयो ।

स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमाले कुनैपार्टी भन्दा कमजोर नभएको बताउनुभयो । एमालेमा एकता भए मोरङमा कुनैपनि राजनीतिदलले प्रतिष्पर्धा गर्न नसक्ने दावी गर्नुभयो । मोरङमा जुझारू नेतृत्व आवश्यक रहेको बताउनुभयो । अधिवेशनले जुझारू नेतृत्व चयनगरि एमालेलाई मोरङमा एक नम्बर बनाउन आग्रह गर्नुभयो ।

केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेले मोरङको समृद्धिको खाका अधिवेशनले बनाउने बताउनुभयो । राजनीति र सांगठनिक यात्राको खाका बनाएर अघि बढ्ने बताउनुभयो । सहमतिमा नेतृत्व चयनका लागि नेता घिमिरेले जोड दिनुभयो ।उहाँले मोरङमा १९ जनाबाट शुरू भएको एमाले पार्टी देशव्यापी बन्न पुगेको स्मरण गर्नुभयो ।

कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले विगतको समीक्षा, आगामी कार्यक्रमबारे अधिवेशनमा छलफल गरि आगामी कार्ययोजना बनाउन निर्देशन दिनुभयो । उहाँले सहमतिमा नेतृत्व चयन गर्न सुझाव दिनुभयो । एकताको अधिवेशन बनाउनु पर्ने बताउनुभयो ।

एमाले मोरङका पूर्व अध्यक्ष ऋषिकेश पोखरेलले सहमतिमा जोड दिनुभयो ।

जिल्ला अधिवेशनका लागि ९ सय १४ जना प्रतिनिधि छानिएका छन् । जसमध्ये १७ वटा स्थानीय तहको १ सय ५९ वडाबाट ६ सय ९२ जना, २३ वटा जनवर्गीय संगठनबाट १ सय १ जना, विशेष क्षेत्रबाट २४ जना, दलित ५१ जना र मनोनित ४६ गरी ९ सय १४ जना प्रतिनिधि चयन गरिएको छ ।

फागुन १९ गतेसम्म चल्ने अधिवेशनले अधिवेशनले १ सय ६५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।