कोशी प्रदेशमा बसाँइसराई ठुलो समस्या, प्रदेश र स्थानीय सरकार गम्भिर बनुन् : योगेश भट्टराई

विराटनगर १७ फागुन । नेकपा एमालेका सचिव एवं ताप्लेजुङका साँसद योगेश भट्टराईले कोशी प्रदेशको सबैभन्दा ठुलो समस्या बसाँइसराई भएको बताउनुभएको छ । हिमाली र पहाडी जिल्लाबाट तराईका जिल्लामा भइरहेको घना जनसंख्याले तीनवटै क्षेत्रमा विविध समस्या निम्त्याएको भट्टराईले बताउनुभयो ।

कोशी बिचार उत्सवको कोशी प्रदेशको आर्थिक समृद्धिको सम्भावना र मार्गचित्र सेसनमा बोल्दै भट्टराईले कोशी प्रदेशका १४ मध्ये १० पहाडी र हिमाली जिल्लाको जनसंख्या वृद्धिदर घट्दो अवस्थामा रहेको बताउनुभयो । खोटाङ जिल्लामा सबै भन्दा जनसंख्या क्षति भइरहेकोले यसतर्फ कोशी प्रदेश सरकार र स्थानीय सरकारले विशेष ध्यानदिनु पर्ने बताउनुभयो । कोशी प्रदेशका झापा,मोरङ,सुनसरी र उदयपुरमा जनसंख्याको उच्च चाप रहेको बताउनुभएको छ ।

जनसंख्याको यो असन्तुलनले विकासमा बाधा पुर्याउने भएकोले बसाँइसराइका कारण पत्ता लगाएर त्यसको व्यवस्थापनमा ध्यान केन्द्रित गर्नुपर्ने भट्टराईले बताउनुभयो । कोशी प्रदेशको औषतका जनताको औषत आयु ७० वर्ष ,कोशी प्रदेशको साक्षरता दर ९४ प्रतिशत रहेकोले यहाँ रोजगारी सृजना गर्नुपर्ने चुनौति तीनै तहका सरकारलाई रहेको उहाँले बताउनुभयो ।भट्टराईले कोशी प्रदेशलाई समृद्ध बनाउन पर्यटन, जलविद्युत, कृषि तथा उद्योग प्रमुख आधार रहेको बताउनुभएको छ ।

४२ हजार मेघावाट विद्युत उत्पादन गर्ने क्षमता कोशी प्रदेशले राख्ने उहाँले बताउनुभयो । भट्टराईले तीनै तहका सरकारले यस प्रदेशको सामथ्र्यलाई पहिचान गर्नुपर्ने बताउनुभएको छ । भूराजनतिक हिसाबले पनि कोशी प्रदेश महत्वपूर्ण ठाउँ रहेको उहाँको भनाइ छ ।

भारतका तीनवटा प्रदेशसँग सिमाना जोडिएको कोशीमा करिब ५० करोड जनसंख्याको छिमेकमा रहेको उल्लेख गर्नुभयो । कोशी प्रदेशका देश कुल ग्राहस्थ उत्पादन ५० खर्बमा १० खर्ब योगदान गरेको भट्टराईको भनाइ छ ।