
विराटनगर १३ फागुन । जहदा क्रिकेट क्लबको आयोजनामा विराटनगरमा सम्पन्न ८ औं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती स्कुलले जितेको छ । आज भएको फाइनल खेलमा सरस्वती स्कुलले अर्किड स्कुललाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरको खेलमा १८ ओभर १ बलमा सबै विकेट गुमाइ ९५ रन बनायो । अभय कामतले ५१ रनको योगदान गरे । बलिङमा सरस्वतीका सुरज मण्डलले ४ र निरज यादवले ३ विकेट लिए । ९६ रनको लक्ष्य पछ्याएको सरस्वतीले १५ ओभर ३ बलमा ३ विकेटको क्षतिमा विजयी भयो ।
दिगम्बर यादवले ३१ र प्लेयर अफ द फाइनल क्रितिषा धामीले २२ रन बनाए । बलिङमा अर्किडका सुरज यादवले २ विकेट लिए । सरस्वती स्कुलबाट क्रितिषा धामी छात्रा खेलाडीले छात्रको टिमबाट क्रिकेट खेल्ने मोरङ क्रिकेटमा पहिलो खेलाडी भइन् । प्रतियोगिताको प्लेयर अफ द सिरिज सरस्वतीका विकास कामत भए । त्यस्तै, उत्कृष्ट ब्याटर सरस्वतीका प्रशान्त यादव र उत्कृष्ट बलर अर्किडका प्रेम कामत भए ।
विजयी तथा अन्य खेलाडीलाई हिसान मोरङका पूर्व अध्यक्ष राजेश कार्की, क्रिकेट एम्पायर सिरिस उपाध्यायलगायतले पुरस्कार प्रदान गरे ।