मिडियाको अवस्था सुधारका लागि एमालेले बनायो समिति

विराटनगर ८ फागुन । कोशी प्रदेशमा सञ्चालनमा रहेका सञ्चार माध्ययमहरुको अवस्थाको अध्ययन र आवश्यक सुधारका लागि नेकपा (एमाले) ले समिति गठन गरेको छ ।

समितिले प्रदेशभीत्र रहेका मिडिया हाउसको दिगो विकास र मिडियाकर्मीहरुको सुरक्षा तथा व्यवसायिकताका विषयमा सुझाव पेश गर्नेछ ।

विहिबार विराटनगरमा सम्पन्न नेकपा (एमाले) कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागको दोस्रो बैठकले प्रचार विभागका प्रमुख लक्ष्मण तिवारी, उपप्रमुख भीमज्वाला राई, सचिव यज्ञ शर्मा र सदस्यहरु मोहनकाजी न्यौपाने र सुमन पुरी रहेको पाँच सदस्यीय समिति गठन गरेको हो ।

कोशी प्रदेशमा ५ सय २९ पत्रपत्रिकाहरु र २ सय १६ अनलाईन डिजिटल पत्रिका रहेको तथ्याङकमा रहेको भएपनि त्यसको अवस्था र चुनौतिहरु के के रहेकाछन् र तिनलाई सुधारका लागि के गर्न सकिन्छ साथै ति सञ्चारमाध्ययमहरुमा काम गर्ने सञ्चारकर्मीहरुको अवस्था र भविष्यका बारेमा अध्ययन गरि प्रदेश सरकारका तर्फबाट गर्न सकिने प्रयासहरुका सम्बन्धमा सुझाव प्रस्तुत गरिने प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले बताउनु भयो ।

बैठकका प्रमुख अतिथि कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राईले सञ्चार माध्ययमहरुको पछिल्लो अवस्था राम्रो नभएको र तिनको विकासमा पार्टी र प्रदेश सरकारले गर्नुपर्ने दायित्वबाट सरकार र पार्टी पछि नहट्ने र आवश्यक सुधारको काममा सधैं तयार रहने बताउनुभयो ।

बैठकमा अनलाईन मिडियाको कोशी प्रदेशको वर्तमान अवस्थाका बारेमा सुमन पुरी र प्रदेशको छापा माध्यमको बारेमा देवेन्द्र कार्कीले प्रस्तुत गर्नु भएको प्रारम्भिक प्रतिवेदनहरु उपर छलफल गरिएको थियो ।

बैठकले प्रदेशमा रहेका मिडियाहरु समाज र सिंगो प्रदेशकै साझा सम्पति रहेकाले त्यसको जगेर्नामा पार्टीले विशेष योजना ल्याउनेगरी छलफल भएको प्रचार विभागका उपप्रमुख भीमज्वाला राईले बताउनुभयो ।