प्रमुख अतिथिबाटै कृति खरिद गरेर लोकार्पण

विराटनगर ७ फागुन । पठन संस्कृतिको विकास तथा लेखक, स्रष्टाप्रति सम्मान गर्ने उद्देश्यले मोरङको बेलबारीमा कार्यक्रमका प्रमुख अतिथिबाटै खरिद गरेर कृतिको लोकार्पण गर्ने कामको सुरुआत भएको छ ।

बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा लेखक तथा पत्रकार केशु विरहीद्वारा अनुसन्धान अक्षयकोष निर्माणार्थ प्रकाशित कृतिको प्रमुख अतिथि, कार्यक्रमका सभापति, विशिष्ट अतिथिहरूबाट आफैँले कृति खरिद गरेर त्यसैको लोकार्पण गरिएको छ ।

नेपाली साहित्यमा कथा, उपन्यास, गजल, बालकथा, अनुसन्धान तथा समालोचनाका क्षेत्रमा कलम चलाउने, पछिल्लो समय भने अनुसन्धानका पुस्तक लेख्तै आएका विरहीले बेलबारीमा अनुसन्धान अक्षयकोष निर्माणको अभियान सुरु गर्नु भएको छ । अभियानकै लागि भनेर उनले सो क्षेत्रका सामाजिक तथा सांस्कृतिक अभियन्ता, अग्रज स्रष्टा हर्कमान तामाङका बारेका तयार पारेको पुस्तक ‘उपद्रष्टा हर्कमान तामाङ’ को बिक्रीबाट प्राप्त भएको रकमले बेलबारीमा एउटा अनुसन्धान अक्षयकोष निर्माण गर्ने र यसबाट प्राप्त ब्याजवापतको रकमबाट अनुसन्धानका क्षेत्रमा काम गर्ने व्यक्तिलाई पुरस्कृत गर्ने कुरा यसअघि नै पत्रकार सम्मेलन गरेर घोषणा गर्नुभएको थियो । उहाँले दिएको जानकारीअनुसार पहिलो चरणमा बेलबारी बहुमुखी क्याम्पसमा अक्षयकोष स्थापना गर्ने र त्यसको ब्याजबाट अनुसन्धान गर्ने कम्तीमा एक जना विद्यार्थीलाई पुरस्कृत गरिने छ र दोस्रो चरणमा भने राष्ट्रिस्तरका अनुसन्धातालाई पुरस्कृत गर्ने गरिको कोष तयार पारिने छ ।

पठन संस्कृति हराउँदै गइरहेको त्यसमा नेपाली साहित्यका कृतिहरू सित्तैमा उपहार स्वरूप बाँडेर सक्नुपर्ने वाध्यता भइरहेको बेलामा बेलबारीबाट चलाएको यस अभियानले नेपाली साहित्यका पाठकमा एउटा आशाको सञ्चार गरेको धेरैको बुझाइ रहेको छ । धेरैले खुलेर प्रशंसा गरेका छन् ।

लेखक तथा पत्रकार केशु विरहीद्वारा अनुसन्धान अक्षयकोष निर्माणार्थ प्रकाशित कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि कोसी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी रहनु भएको थियो ।

बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, शैक्षिक तथा साहित्यिक व्यक्तित्व, पूर्व सांसद हर्कमान तामाङ, कवि तथा अन्वेषक अनिल पौडेल, कवि तथा समीक्षक मिश्र बैजयन्ती लगायतका अति विशिष्ट व्यक्तिहरू अतिथि रहेका थिए ।