कोशी प्रदेशको मानव अधिकारको अवस्था खराव, एक वर्षमा परिवारजनबाट ३४ महिलाको हत्या

विराटनगर ७ फागुन । कोशी प्रदेशमा एक वर्षको अवधिमा परिवारजनबाट ३४ जना महिलाको हत्या भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले जनाएको छ । इन्सेक कोशी प्रदेश कार्यालयले वुधवार विराटनगरमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ सार्वजनिकीकरण गर्दै एक वर्षको अवधिमा परिवारजनबाट ३४ जना महिलाको हत्या भएको जनाएको हो ।

देशभर परिवारजनबाट १ सय जना महिलाको हत्या भएकोमध्ये ३४ जना कोशी प्रदेशका भएको इन्सेक कोशी प्रदेश कार्यालयका प्रलेख अधिकृत पुण्य अधिकारीले बताउनुभयो । ओखलढुङ्गामा तीन, भोजपुरमा एक, इलाममा तीन, झापामा पाँच, सोलुखुम्बुमा एक, पाँचथरमा दुई, सङखुवासभामा एक, मोरङमा चार, सुनसरीमा तीन, ताप्लेजुङमा एक, तेहृ्रथुममा तीन र उदयपुरमा सात गरी ३४ जना महिलाको परिवारजनबाटै हत्या भएको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को मानव अधिकार सूचकाङ्कमा कोशी प्रदेशमा चौथो स्थानमा परेको प्रलेख अधिकृत अधिकारीले बताउनुभयो । सातओटै प्रदेशहरूमा शारीरिक हिंसाका घटनाहरूसँग सम्बन्धित मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा यस वर्ष कोशी प्रदेश ३६ दशमलव १८ प्रतिशत सूचकाङ्क मूल्यसहित चौथो स्थानमा भएको अधिकृत अधिकारीले बताए । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का आधारमा कोशी प्रदेश भन्दा बागमती, मधेश, लुम्बिनी प्रदेशको मानव अधिकारको अवस्था खराब देखिएको छ ।

इन्सेकले ५३ ओटा सूचकमार्फत गरेको विश्लेषणका आधारमा सन २०२३ मा ३३ दशमलव ३२ प्रतिशत मानव अधिकार उल्लङ्घन सूचकाङ्क रहेकोमा सन २०२४ को कोशी प्रदेशको मानव अधिकारको अवस्था खराव देखिएको छ । यस वर्ष कोशी प्रदेशमा राज्य पक्षबाट गिरफ्तारीका घटनामा दुई जना, कुटपिटका घटनामा चार जना, कुटपिटबाट घाइते एक जना, गोली प्रहारबाट घाइते तीन जना, धारिलो हतियार प्रहारबाट ११ जना, झडपमा प्रहरीको लाठी प्रहारबाट ६ जना घाइते भएका छन् ।

यस वर्ष भेला हुन पाउने अधिकारबाट चार जना वञ्चित भएको वर्ष पुस्तकमा उल्लेख छ । सन् २०२४ मा कोशी प्रदेशमा अन्य पक्षबाट भएका बाल अधिकारविरूद्धका घटनामा ३ सय ५२ जना पीडित भएका छन् । जसमा बलात्कारका घटनामा २ सय २५ जना, सामूहिक बलात्कारका घटनामा तीन जना, यौन दुव्र्यवहारका घटनामा ९४ जना, बाल विवाहका घटनामा तीन जना, वेचविखनका घटनामा पाँच जना, शिक्षण संस्थामा दिइएको शारिरीक सजायका घटनामा चार जना, नवजात शिशु हत्यामा ६ जना, अत्याचारका घटनामा १२ जना गरी ३ सय ५२ जना पीडित भएका छन् ।

कोशी प्रदेशमा रहेका जिल्ला कारागारको क्षमता ३ हजार १ सय ८४ रहेकोमा ६ हजार १ सय ७५ जनालाई राखिएको छ । यो वर्ष बालसुधार गृह विराटनगरमा २ सय ४४ जना बालकलाई राखिएको छ । सन् २०२४ देखि इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तकमा जलवायु परिवर्तन, बढ्दो वातावरणीय प्रदूषण, मानव अधिकार र वातावरणको अधिकारलाई समेत उठान गरेको छ । सन् २०२४ मा कोशी प्रदेशमा वायु प्रदुषण, पानीेको मुहान सुक्नु, बाढी पहिरोलगायत प्राकृतिक विपद्का कारण कोशी प्रदेशमा १८ हजार ५ सय ३२ जनाले बसाइँसराइ गरेका छन् ।

कोशी प्रदेशमा भएका १ सय २६ ओटा इँटाभट्टा र १३ ओटा सिमेन्ट उधोगका कारण वायु प्रदुषण भएको छ । कोशी प्रदेशमा सुनसरी, मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगका कारण भएको पर्यावरण प्रदूषणलाई इन्सेकले यस वर्ष कोशी प्रदेशको वातावरणको सवालका रूपमा आलेखमार्फत उठान गरेको छ ।