
विराटनगर ७ फागुन । विराटनगर महानगरपालिका वडा नं. ८ को बलुवाही पूर्वमा रहेको सिंघीया घाटमा मलामी विश्रामालय निर्माण गरिने भएको छ । मलामी विश्रामालयको आज विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्कीले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।
वडाको ५ लाख र महानगरको ३ लाख गरि ८ लाख रुपैयाँको लागतमा आगामी २ महिना भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित मलामी विश्रामालयको शिलान्यास गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । जमिनमाथि २० फिट चौडाई र ४० फिट लम्वाईको मलामी विश्रामालय ट्रस हालेर निर्माण गरिने वडाध्यक्ष पोखरेलले बताउनुभयो ।
२०७९ को स्थानीय तह निर्वाचनका समयमा घरदैलो गर्ने क्रममा वडावासीबाट मलामी विश्रामालयको माग आएकाले चुनावी प्रतिबद्धता अनुसार निर्माण शुरु गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ मलामी विश्रामालयको अभावका कारण बर्षाको समयमा सँधै समस्या हुने गरेको थियो । अव त्यो समस्या समधान हुनेभयो ।’ मलामी विश्रामालय निर्माणपछि विराटनगर वडा नं. ८ वडा नं. १०, १४ र जहदा गापाका बासीन्दा लाभान्वित हुने वडाध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।
विराटनगर ८ ले हरेक योजनाहरु प्रकृया पुरा गरेर निर्माण शुरु गर्ने र आर्थिक वर्षको अन्त्य अगावै वडास्तरका योजनाहरुको काम सम्पन्न गर्ने परिपाटिको विकास गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ आर्थिक वर्षको अन्त्य हुनु अगावै योजनाहरुको निर्माणको प्रकृया शुरु हुँदै आएको छ ।’