कोशी प्रदेशमा एचपीभी खोप : स्थानीय तह र जिल्लाले लिएको लक्ष्य पुरा

विराटनगर ६ फागुन । कोशी प्रदेशका ८७ प्रतिशत छात्रा तथा किशोरीहरुलाई ह्युमन प्यापिलोमा भाईरस (एचपीभी) खोप लगाईएको छ । गत फागुन २२ देखि आज सम्ममा १४ वटै जिल्लाका २ लाख ३१ हजार २२८ छात्रा तथा किशोरीहरुलाई (एचपीभी) खोप लगाईएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार खोपको कभरेज ८७ प्रतिशत भएको छ ।

अभियान अन्र्तगत विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरु गरि २ लाख ६५ हजार ९१८ जनालाई खोप लगाउने लक्ष्य राखिएको थियो । १५ दिनको अभियानमा २ लाख ३१ हजार २२८ जनालाई खोप लगाईएको खोप अधिकृत भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो,‘ स्थानीय तह र जिल्लाले लिएको लक्ष्य पुरा भएको छ । संघीय लक्ष्यको ८७ प्रतिशतले खोप लगाएका छन् । ’ जिल्लाकाे प्रगति १०२ प्रतिशत रहेकाे भण्डारीले जानकारी दिनुभयाे ।

स्वास्थ्य निर्देशनालयका अनुसार ताप्लेजुङमा ७ हजार १२०, पाँचथरमा ७ हजार ७०७, इलाममा ९ हजार ५९४, झापामा ४७ हजार ३६५, संखुवासभामा ७ हजार ९४१, तेहृथुममा ४ हजार ३७३, भोजपुरमा ७ हजार ५७७, धनकुटा ६ हजार ९११, सुनसरी ४२ हजार ६७, मोरङमा ५२ हजार २७९, सोलुखुम्बुमा ५ हजार ३०९, खोटाङमा ८ हजार ७९८, उदयपुर १८ हजार ४९५ र ओखलढुङ्गा ६ हजार १६२ जनालाई खोप लगाईएको छ । खोप अभियान अन्र्तगत जिल्लाहरुले लिएको लक्ष्य भन्दा बढी ताप्लेजुङले १०५ प्रतिशत र सवैभन्दा कम इलामले ८१ प्रतिशतलाई खोप लगाएको छ ।

एचपीभी खोप शुरु भएको दिन फागुन २२ गते कोशी प्रदेशका १४ जिल्लामा २२ हजार ९६ जनालाई खोप लगाईएको थियो । अन्तिम दिन आज १०८ जनालाई खोप लगाउँदै अभियान सम्पन्न भएको छ ।

एचपीभी एक प्रकारको विषाणु हो । संसारका विभिन्न देशहरुमा गरिएको अध्ययन अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपीभी हो । पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९५ प्रतिशत भन्दा बढी क्यान्सर एचपीभीले गराउँदछ । एचपीभीको २०० भन्दा बढी किसिमका प्रजातिहरु हुन्छन । यसमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक हुन । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाति १६ र १८ बाट भएको देखिन्छ । यसले महिलाहरुको पाठेघरको मुखको क्यान्सरको साथै यौनांगमा आउने मुसा तथा यौनांगको क्यान्सर समेत गराउन सक्ने विज्ञहरुको भनाई छ ।