एक महिनापछि आफन्तलाई बुझाइयो शव

विराटनगर, २४ वैशाख । विराटनगरका एक जना पुरुषको मृत्यु भएको लामो समयपछि शव आफन्तलाई बुझाइएको छ । मृत्यु भएको एक महिनापछि आफन्त र परिवारका सदस्य सम्पर्कमा आएसँगै मृतकको पहिचान खुलेको र शव जिम्मा लगाएर पठाइएको अस्पतालले जनाएको छ ।

मृतक विराटनगर महानगरपालिका–६ का ४६ वर्षीय दिनेश पासवान रहेको खुलेको छ । विराटनगर–९ घोघापुल चोकमा बिरामी भएर ढलिरहेको बेबारिसे अवस्थामा प्रहरीले गत वैशाख २४ गते पासवानलाई फेला पारेको थियो । प्रहरीले उद्धार गरेर उपचारका लागि कोसी अस्पताल ल्याएका पासवानको भोलिपल्ट अर्थात वैशाख २५ गते उपचारकै क्रममा मृत्यु भयो । पोस्टमार्टम गरिएको शव भने फ्रिजमा हालेर अस्पतालकै शव गृहमा राखिएको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलका अनुसार आफन्त र परिवारका सदस्य सम्पर्कमा आएपछि शव जिम्मा लगाएर पठाइएको छ । दिनेशको शव पत्नी (श्रीमती) सुनिता पासवानले जिम्मा लिएको उहाँले बताउनु भयो । अत्यधिक मादक पदार्थ सेवन (मापसे)का कारण मृत्यु भएको जानकारी अस्पतालले दिएको छ । डा. खरेलका अनुसार बेबारिसे अवस्थामा फेला परेका बिरामीको उपचारका क्रममा मृत्यु भए पनि शव भने व्यवस्थापन नगरिकन अस्पतालमै राखिएको थियो ।

बेबारिसे अवस्थामा भेटिएकाको मृत्यु भएमा कम्तीमा एक साताभित्रमा सम्बन्धित स्थानीय तहले शवको व्यवस्थापन गर्ने गरेको थियो । स्थानीय तह निर्वाचन लगायतका कारणले व्यवस्थापनमा ढिलाइ हुँदा निक्कै ढिलो गरेर सम्पर्कमा आएका आफन्त र परिवारका सदस्यले शव पाएका हुन् । यसैबीच एक जना बेबारिसे पुरुषको शव पनि लामो समयदेखि कोसी अस्पतालमै राखिएको छ । मोरङको धनपालथानमा बेबारिसे अवस्थामा भेटिएका अन्दाजी ६०–६५ वर्षीय पुरुषको वैशाख २२ गते मृत्यु भएको हो । बेबारिसे ति पुरुषलाई पनि बिरामी भएर ढलिरहेको अवस्थामा प्रहरीले उद्धार गरेर उपचारका लागि ल्याएको थियो । उपचारकै क्रममा ५ दिनपछि मृत्यु भएको हो ।

एक महिनाअघिदेखि शव राखिए पनि आफन्त र परिवारका सदस्य सम्पर्कमा नआएको डा. खरेलले बताउनु भयो । ‘बेबारिसे अवस्थामा फेला पारेर प्रहरीले उपचारका लागि ल्याएको थियो । उपचारकै क्रममा मृत्यु भयो,’ उहाँले भन्नु भयो, ‘अहिलेसम्म मृतकको पहिचान खुलेको छैन । आफन्त र परिवारका सदस्य सम्पर्कमा आएका छैनन् ।’ खरेलका अनुसार प्रहरीमार्फत मृतकका आफन्तको खोजी र पहिचानको प्रयास भइरहेको छ । आफन्त वा परिवारका सदस्य सम्पर्कमा आएमा शव जिम्मा लगाएर पठाइने उहाँको भनाइ छ ।

शव केही दिन अस्पतालमै राखिने र कोही पनि सम्पर्कमा नआएर प्रक्रिया पुर्याएर व्यवस्थापन गरिने जानकारी उहाँले दिनु भयो ।