कोशी विचार उत्सवको तयारी तीव्र

विराटनगर ६ फागुन । कोशी विचार उत्सव २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ ।

कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना हुने उत्सवमा राजनीति, अर्थतन्त्र, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, खेलकुद, संस्कृति, पर्यटन, पर्यावरण र कृषि लगायतका विषयमा गहन विचार–विमर्श हुने आयोजक वीणा फाउन्डेसनले जनाएको छ ।

फागुन १५, १६ र १७ गते आयोजना हुने उत्सवमा वर्तमान राजनीतिक परिदृश्यका दिग्गज राजनीतिज्ञ, अर्थविद, शैक्षिक क्षेत्रका हस्ती, खेलकुदलगायत क्षेत्रको प्रतिनिधित्व हुने बताइएको छ ।
उत्सवका आयोजक वीणा फाउन्डेसनका बरुण झाले दिएको जानकारीअनुसार खुला शत्रका रुपमा महेन्द्र चौकमा आयोजना हुने विचार उत्सवमा प्रदेश सरकार, स्थानीय तह र केन्द्रीय तहका नेता सहभागी हुँदैछन् । यस सन्दर्भमा जल्दोबल्दो विषयमा गहन छलफल भई त्यसबाट आएका निश्कर्षकले सरकार संचालन तहमा समेत सकारात्मक सुझाव प्राप्त हुने अपेक्षा गरिएको छ ।

फाउन्डेसनले यसको तयारी स्वरुप विभिन्न विधामा काम गरिरहेको मिश्रले बताए । उनले भने,“विचार उत्सर्जन र प्रतिपादनमा कोसी आफैमा उर्भर भूमि भएकोले यो पटक हामीले विराटनगरलाई चयन गरी कार्यक्रम आयोजना गर्न लागेका हौं ।”

फाउन्डेसनले यसअघि मधेश प्रदेशको राजविराजमा यस्तै कार्यक्रम आयोजना गरेको थियो ।