अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति कार्यान्वयनमा जोड

विराटनगर ४ फागुन । अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति कार्यान्वयनमा सरोकारवालाहरुले जोड दिएका छन् ।

बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालको आयोजनामा आज विराटनगरमा अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति २०८० सार्वजनिक कार्यक्रममा अपाङ्गता भएका व्यक्ति सम्बन्धी नीतिहरु बनेपनि कार्यान्वयन पक्ष कमजोर रहेको बताएका थिए । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर वस्नेतले राष्ट्रिय नीति कार्यन्वयनमा जोड दिनुभयो । उहाँले कार्ययोजना सहित कार्यान्वय गर्नुपर्ने बताउनुभयो । उहाँले कोशी प्रदेश सरकारले प्रदेश स्वाथ्य नीति तयारी गरेकाले सो नीतिमा अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु दिन आग्रह गर्नुभयो । उहाँले अपाङ्गतामैत्री भौतिक पूर्वाधारमा जोड दिनुभयो ।

सामाजिक विकास मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले अपाङ्गता भएका व्यक्ति सम्बन्धी सरकारले ल्याएका नीतिहरुको कार्यान्वयन पक्ष कमजोर रहेको बताउनुभयो । उहाँले नीति कार्यान्वयनका लागि कार्ययोजना आवस्यक रहेको बताउनुभयो । अपाङ्गताको क्षेत्रमा कोशी प्रदेशले सातवटै प्रदेशहरु मध्ये उत्कृष्ट कार्य गरिरहेको बताउनुभयो । भौतिक पूर्वाधार विकास मन्त्रालयका उपसचिव कृष्ण पौडेलले भवन आचारसंहिता अनुसार अपाङ्गतामैत्री भौतिक संरचना निर्माण गर्नुपर्ने बताउनुभयो । अपाङ्गतामैत्री भवन निर्माणको संरचना नबनाए भवन स्वीकृत नहुने बताउनुभयो ।

करुणा फाउन्डेसनका बरिष्ठ कार्यक्रम व्यवस्थापक कमल कोइरालाले राष्ट्रिय नीतिको रणनीतिमा सचेत हुन आवस्यक रहेको बताउनुभयो । नेपाल सरकारको विद्यमान खरिद ऐनका कारण सहायक सामग्रीहरु सहज रुपमा उपलब्ध नहुने अवस्था रहेको बताउनुभयो । उहाँले बजेट भएपनि सामग्री खरिदमा समस्या रहेको बताउनुभयो । कोइरालाले कोशी प्रदेश सरकार, स्थानीय सरकारहरु र करुणा फाउन्डेनको सहकार्यमा अपाङ्गता पुर्नस्थापना कार्यक्रम सञ्चालनमा रहेको र सो कार्यका लागि ४५ करोड बजेट कार्यान्वयनमा रहेको बताउनुभयो ।

प्रगतिशिल अपाङ्गता समूह रंगेली मोरङका अभिषेक दाहालले सार्वजनिक सेवा लिने क्रममा अपाङ्गता भएका व्यक्तिहरु प्राथमिकतामा नपर्ने गरेको गुनासो गर्नुभयो । सरकार नीति एकातिर र व्यवहार अर्कोतिर भईरहेको गुनासो गर्नुभयो ।

उद्योग बाणिज्य महासंघ कोशी प्रदेशकी सदस्य सरु केसीले भौतिक पूर्वाधार अपाङ्गतामैत्री भए/नभएको अनुगमन आवस्यक रहेको बताउनुभयो । उहाँले अपाङ्गता भएकाहरुलाई सक्षमता आवस्यक रहेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशका अध्यक्ष नविनचन्द्र ढुङ्गेलले अपाङ्गता भएका व्यक्ति सम्बन्धी नीति कार्यान्वयनमा विशेष जोड दिईने बताउनुभयो ।

कार्यक्रममा बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालका अध्यक्ष राजु वस्नेतले अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति २०८० बारे प्रस्तुती गर्नुभएको थियो ।