स्वीस सरकारका प्रतिनिधि र कोशी प्रदेशका मुख्यमन्त्री कार्कीबीच भेटवार्ता

विराटनगर ४ फागुन । स्वीस सरकारका प्रतिनिधि र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बीच आज भेटवार्ता भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा नेपालका लागि स्वीस सरकारका प्रतिनिधि हेड अफ कर्पाेरेशन म्याथिस मेयर र सल्लाहकार नवीन वाग्लेसहितको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको हो ।

भेटवार्तामा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले स्विस सरकारले गरेको सहयोग र सहकार्य को प्रशंसा गर्नुभएको थियो। उहाँले ७५ वर्षदेखि नेपाल र स्विस सरकारको सम्बन्ध रहेको चर्चा गर्दै यो सम्बन्ध अझै प्रगाढ र विस्तार हुने बताउनुभयो। उहाँले नेपालको संघीयता र संविधान कार्यान्वयनका लागि गरेको सहयोग महत्वपूर्ण भएको महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।

वित्तीय संघीयता बलियो बनाउन स्विस सरकारको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै उहाँले थप सहयोग आवश्यकता रहेको औल्याउनुभयो ।

पछिल्लो समय राजनीतिक स्थिरता कायम भएको र यसको जगमा सरकारले आफ्नो कामलाई द्रुत गतिमा अगाडि बढाउने विश्वास दिलाउँदै सोही अनुसार सहयोग गर्न मुख्यमन्त्री कार्कीले आग्रह गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशमा लगानी सम्मेलन, पर्यटन पर्यटन वर्ष र चिया सम्मेलनको तयारी गरेको र यसले प्रदेशलाई समृद्ध बनाउन सहयोग पुग्ने उल्लेख गर्दै यसका लागि पनि सहकार्य गर्न आग्रह गर्नुभयो ।

भेटका अवसरमा हेड अफ कोपरेसन म्याथिस मेयरले संघीयता बलियो बनाउनका लागि स्वीस सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो ।

प्रदेश सरकारले सात वर्ष पूरा गरेको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले संघीयता कार्यान्वयनका लागि स्वीस सरकार सहयोगी बन्ने बताउनुभयो । उहाँले प्राविधिक शिक्षा र अन्य रणनीतिक परियोजनाका लागि सहयोग गर्न स्वस सरकार तयार रहेको स्पष्ट पार्नुभयो।

राजस्व वृद्धि र पर्यटन प्रवर्धन गर्ने काम राम्रो भएको चर्चा गर्दै म्याथिस मेयरले यसका लागि आफ्नो सहयोग र सहकार्य रहने उल्लेख गर्नुभयो।

स्विस सरकारले सञ्चालन गरेको परियोजना कोशी प्रदेशमा राम्रोसँग सञ्चालन भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो। दुई पक्ष भेटघाटमा कोशी प्रदेश सरकारका प्रमुख सचिव केदारनाथ शर्मा र मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जीवन कार्की, सल्लाहकारहरू रवि खनाल, डा. मोहन सुवेदी र विक्रम लुइटेलको सहभागिता रहेको थियो।