
विराटनगर ३ फागुन । जिल्ला अस्पताल खाँदबारीका लागि ‘सीटी स्क्यान मेसिन’ खरिद प्रक्रिया अघि बढाइदिनुपर्ने माग गर्दै संखुवासभाबाट सर्वदलीय टोली कोशी प्रदेशको राजधानी विराटनगर आइपुगेको छ ।
कोशी प्रदेश सरकारले जिल्ला अस्पताल खाँदबारीका लागि ‘सीटी स्क्यान मेसिन’ खरिद गर्न चालु आर्थिक वर्ष २०८१–०८२ मा ७ करोड रूपैयाँ विनियोजन गरेको थियो । तर, समयमै खरिद प्रक्रिया अघि नबढाइएको भन्दै दबाब दिनलाई संखुवासभाली शुक्रबार विराटनगर आइपुगेका हुन् ।
जिल्ला समन्वय समिति (जिसस) संखुवासभाका प्रमुख सुमन शाक्य, संविधानसभा सदस्य एवं पूर्वप्रदेशसभा सदस्यसमेत रहेका नेकपा (माओवादी केन्द्र)का नेता पूर्णप्रसाद राई, सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईं, नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति दिपनकुमार श्रेष्ठ, नेकपा (एमाले) खाँदबारी नगर कमिटीका पूर्वअध्यक्ष एवं पार्टीका सचिवालय सदस्य किरणकुमार शाक्यलगायत विराटनगर आएका छन् ।
टोलीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संखुवासभा सभापति भक्तनारायण श्रेष्ठ, जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला अध्यक्ष सीताराम तिम्सिना, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को राष्ट्रिय प्रजातान्त्रिक युवा संघका जिल्ला अध्यक्ष मुकेशराज दाहाल, नेकपा (एकीकृत समाजवादी) पार्टीका सचिवालय सदस्य हेमराज निरौला, जिल्ला समन्वय समितिको सचिवालय सदस्य प्रकाश श्रेष्ठलगायत छन् ।
टोलीलाई संखुवासभाबाट निर्वाचित प्रदेशसभा सदस्यहरु सत्तारुढ नेकपा (एमाले)का विदुरकुमार लिङ्थेप र नेकपा (माओवादी केन्द्र)का राजेन्द्रकुमार कार्कीले साथ दिएका थिए । लिङ्थेप एमालेको प्रदेश संसदीय दलका प्रमुख सचेतक र कार्की प्रदेशकै पूर्वस्वास्थ्य मन्त्री हुन् ।
कार्की नै स्वास्थ्यमन्त्री भएका बेला ‘मेसिन’ खरिदका लागि बजेट विनियोजन भएको थियो । संखुवासभाबाट आएको टोलीले प्रदेश सांसद लिङ्थेप र कार्कीसहित स्वास्थ्यमन्त्री भूपेन्द्र राई र मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर समस्या सुनाएको छ ।
जिसस प्रमुख शाक्यले प्रदेश सरकारले बजेट छुट्याएको भए पनि कार्यान्वयन गर्न ढिलाइ गरेका कारण दबाब दिन १ दिन लगाएर विराटनगर आउनु परेको बताए । उनका अनुसार जिल्ला अस्पताल खाँदबारीमा ११ औं तहका मेडिकल सुपरिटेन्डेन्ट छैनन् । ९ औं तहका मेडिकल सुपरिटेन्डेन्टले खरिद प्रक्रिया अघि बढाउन नमिल्ने भएका कारण स्वीकृतिका लागि आग्रह गरेर मंसिर १८ गते नै स्वास्थ्य मन्त्रालयलाई पत्र पठाइएको जानकारी शाक्यले दिए ।
तर, स्वास्थ्य मन्त्रालयले अहिलेसम्म स्वीकृति नदिएको र खरिदको प्रक्रियासमेत अघि नबढाएको उनले बताए । अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका शाक्यका अनुसार ‘मेसिन’ चलाउने जनशक्तिको अभाव देखाउँदै सरकारले काम नगरेका कारण बजेट ‘फ्रिज’ भएर जाने आवस्था आउनसक्छ । गत आर्थिक वर्षमा ‘मेसिन’ खरिदकै लागि आएको ३ करोड रूपैयाँ ‘मेसिन’ खरिद गर्न अपुग भएकाले ‘फ्रिज’ भएको जानकारी उनले दिए ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘सीटी स्क्यान मेसिन’ खरिदमा आफूले सहजीकरण गरिदिने प्रतिबद्धता जनाएका छन् । बजेट विनियोजन भएपछि खरिद प्रक्रिया अघि बढाउने जिम्मा सम्बन्धित मन्त्रालयकै हुने उनको भनाइ छ ।