कोशी प्रदेश सरकारको ७ वर्ष, पूर्वाधारमा प्रगति

विराटनगर ३ फागुन । कोशी प्रदेश सरकार स्थापना भएको ७ वर्ष पुरा भएको छ । सरकारले आज औपचारिक रुपमा सातौं वार्षिकोत्सव मनाउँदै छ ।

कोशी प्रदेशमा २०७४ फागुन २ गते शेरधन राईको नेतृत्वमा सरकार गठन गरिएको थियो । २०७२ असोज ३ मा जारी भएको संविधानको विधिवत कार्यान्वयन २०७४ को तीनै तहको निर्वाचनपश्चात भएको हो । २०७४ मंसिरमा प्रतिनिधिसभाको निर्वाचन भएको थियो । प्रतिनिधिसभाको चुनावसँगै प्रदेशसभाको चुनाव पनि भएको थियो ।

कोशी प्रदेश सरकार गठनयता ४०३.२० किमि सडकको ट्रयाक खुला, १ हजार ३९०.५८ किमि सडक ग्राभेल, ६०८.२७ किमि कालोपत्र, ९३ वटा पक्की पुल निर्माण भएका छन् । संघीय सरकारले अहिलेसम्म प्रदेशलाई प्रहरीको अधिकार हस्तान्तरण गरेको छैन । तर, कोशीले ९७ वटा प्रहरी कार्यालय बनाइदिएको छ ।

धनकुटाको भेडेटारमा सार्वजनिक निजी साझेदारी मोडलमा २० करोडको लागतमा स्काई वाक निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । यो परियोजनाको अवलोकन गर्न दिनमा न्यूनतम ३०० देखि अधिकतम ११०० जनासम्म पयर्टक आउने र यसले भेडेटारको व्यापारमा १५ प्रतिशतले अभिवृद्धि गराएको कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाको भनाइ छ ।

२०७६ माघमा कोशीको लोक सेवा आयोग गठन भएपछि अहिलेसम्म स्थानीय सरकारी सेवाका लागि ४ हजार ४३ पद संख्यामा विज्ञापन गरी २ हजार ११४ जना पदपूर्तिका लागि सिफारिस गरिएको छ । कर्मचारीहरू अहिले पालिकामा कार्यरत छन । प्रदेशका लागि सुरुवाती समय चुनौतीपूर्ण थियो ।

कर्मचारी, कानुन, कार्यालय, वित्तीय स्रोत र साधन शून्यबाट थालनी गर्नुपर्ने स्थिति थियो । कानुन तर्जुमा, बजेट निर्माण, प्रदेश सरकार तथा प्रदेश संसद्को बैठक सञ्चालन प्रदेशका लागि नयाँ अभ्यास थियो । कोशी प्रदेशले सरकार गठन वर्ष नै गरिबका छोराछोरीलाई एमबीबीएस पढ्न बिनाधितो सुलभ ऋणको व्यवस्था गरेको थियो ।