विराटनगरका छात्राहरुका लागि आत्मरक्षा तालिम

विराटनगर १ फागुन । विराटनगरका सामुदायिक विद्यालयका छात्राहरुका लागि आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम आज देखि शुरु भएको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा समृद्ध समाज नेपालको संयोजनामा आजदेखि तीन दिने तालिम शुरु भएको हो । सत्यनारायण माविमा शुरु तालिममा विराटनगरका १३ वटा सामुदायिक विद्यालयका एक सय जना छात्राहरु सहभागि भएका छन् । उनीहरुलाई तीन दिने आत्मरक्षाबारे प्रशिक्षण दिईने समृद्ध समाज नेपालकी अध्यक्ष कला डाँगीले जानकारी दिनुभयो । महिलाका लागि सेल्फ डिफेन्स तालिम प्रभावकारी भएको उहाँले बताउनुभयो । गत वर्ष देखि समृद्ध समाज नेपालले आत्मरक्षा तालिम शुरु गरेको बताउनुभयो ।

किशोरीहरुलाई हिंसाबाट जोगाउन तालिम प्रभावकारी हुने उहाँको भनाई छ । तालिम उद्घाटन कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण वस्नेत ( पर्शुराम) ले कुनैपनि हिंसाबाट बचाउनका लागि आत्मरक्षा तालिम दिईएको बताउनुभयो । उहाँले आत्मरक्षा तालिमलाई कोशी प्रदेशका १४ वटै जिल्लामा पुर्याईने बताउनुभयो ।

तालिममा छात्राहरुलाई आत्मरक्षाका लागि आवस्यक सीप र महिला हिंसा भए पीडकलाई हुने कानुनी कारवाहीका बारेमा जानकारी गराईने बताउनुभयो । तालिम उद्घाटन कार्यक्रममा आइटीएफ तेक्वान्दो महासंघका अध्यक्ष प्रविण कार्की, नेपाल पत्रकार महासंघ मोरङका सचिव नेत्र पी अधिकारी लगायतले बोल्नु भएको थियो ।