कोशी प्रदेशसभाका सचिव पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर

विराटनगर १ फागुन । सर्वाेच्च अदालतले कोशी प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

सर्वाेच्चले पराजुलीलाई ६ वर्ष कैद सजाय सुनाएको छ । ६२ लाख ३७ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको सर्वाेच्चले त्यसको दोब्बर एक करोड २२ लाख जरिवाना हुने फैसला गरेको छ । पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन दिएको मुद्दामा पराजुली दोषी ठहर भएका हुन् । बालुवाखानी ठेक्का दिँदा पराजुली काठमाडौं जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी थिए ।

सर्वाेच्चका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले बुधवार फैसला गरेको हो । निजामति सेवामा प्रमुख जिल्ला अधिकारी हुँदै कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव पनि बनेका पराजुली राजीनामा दिएर २०७६ वैशाख १२ मा प्रदेश सभाको सचिव नियुक्त भएका थिए । उनी २०८१ वैशाख ९ देखि लागू हुने गरी दोस्रो कार्यकालका लागि प्रदेश सभाको सचिवमा नियुक्त भएका थिए ।

अदालतको फैसलासँगै उनी स्वतः पदमुक्त भएका छन् । सर्वाेच्च अदालतले पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा एमाले नेता निर्मल कुइँकेल र पराजुलीसहित ९ जनालाई दोषी ठहर गरेको छ ।