मानव बेचबिखन तथा नियन्त्रणमा दलाल र अभिभावकबाट चुनौती

विराटनगर २९ माघ । विराटनगर रानी नाका हुँदै भारत जान खोज्ने २०२ जना महिला तथा बालिकालाई माईती नेपाल विराटनगरले रोकेको छ । मानव बेचविखनको जोखिममा परेका उनीहरुलाई सीमाक्षेत्रबाट रोकिएको माइती नेपालले जनाएको छ ।

गत वर्षको मार्च देखि फेब्रुअरी १० सम्मको अवधिमा २०२ जनालाई सीमाक्षेत्रबाट रोकिएको माईती नेपाल मोरङका संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो । झण्डै एक वर्षको अवधिमा सीमा क्षेत्रबाट मोरङका ८०, सुनसरी ४४, झापाका १५ जना रहेका छन् ।

उदयपुरका ८, सिरहा, सप्तरी, धनकुटा र भोजपुरका ५÷५, खोटाङका ४, सिन्धुपाल्चोक, पाँचथर र तेर्हथुमका ३÷३, इलाम, सल्यान, दोलखा र सर्लाहीका २÷२, स्याङ्जा, ओखलढुङ्गा, लमजुङ, चितवन, नुवाकोट र धादिङका १–१ जना रहेको माईती नेपालले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा जनाईएको छ । पछिल्लो एक वर्षमा भारतको दार्जिलिङका एक जनालाई पनि सीमा क्षेत्रबाट रोकिएको छ । विदेशी नागरिक ३ जनालाई यसअघि सन् २०२२ मा सीमाक्षेत्रबाट रोकिएको थियो । सन् २०२४ मा २०२ जनालाई सीमा क्षेत्रबाट रोक्न सफल भएको माईती नेपालले ३ जनालाई भारतबाट उद्धार गरेको थियो ।

मानव बेचविखनको जोखिममा रहेका महिला तथा बालिकाहरुको उद्धारमा समस्या रहेको संयोजक पोखरेलले बताउनुभयो । दलालहरुले नाका सम्म अभिभाकक प्रयोगका कारण मानव बेचविखन नियन्त्रणमा चुनौति थपिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ सीमा क्षेत्रमा सोधपुछ गर्न समस्या छ । सुरक्षाकर्मीको साथ आवस्यक देखिएको छ । एक जना मात्रै भएपनि महिला प्रहरी संगै भए राम्रो हुने थियो ।’ सीमा क्षेत्रमा भेटिएका महिला, बालबालिकाहरुलाई रोक्दा टिकट बुकिङ गर्नेहरुबाटमा समस्या हुने गरेको उहाँले बताउनुभयो ।

अध्ययनका क्रममा रोजगारको अवसर र आर्र्थिक प्रलोभनका कारण भारत तर्फ बढी आकर्षण देखिएको माईती नेपालकी मनोपरामर्शकर्ता गीताञ्जली शर्माले बताउनुभयो । उहाँका अनुसार सीमा क्षेत्रबाट रोकिएका मध्ये १८ वर्ष भन्दा माथिका १५१ र १८ वर्ष मुनीका ५१ जना छन् । सामाजिक सञ्जालको माध्यम बनाई दलाल प्रत्यक्ष देखा नपरी बालिकाहरु एक्लै दैनिक सिमा पार गर्ने गरेको मनोपरामर्शकर्ता शर्माले जानकारी दिनुभयो । माईती नेपाल, विगत १५ वर्षदेखि विराटनगर सीमा क्षेत्रमा रहेर मानव वेचविखन तथा नियन्त्रणको क्षेत्रमा क्रियाशिल छ ।