विराटनगरबाटै लाइसेन्सको नवीकरण, नयाँ वितरण पनि चाँडै

विराटनगर, २१ जेठ । प्रदेश १ को राजधानी विराटनगरबाटै लाइसेन्स (सवारी चालक अनुमति पत्र)को नवीकरण सुरु भएको छ ।

विराटनगर महानगरपालिका–४ खारजीस्थित यातायात व्यवस्था सेवा कार्यालयले लाइसेन्स नवीकरण सम्बन्धी सेवा सञ्चालनमा ल्याएको हो । कार्यालयका प्रमुख अनमोलमणि भट्टराईले स्मार्ट लाइसेन्स नवीकरणका लागि पहिलो पटक २ जनाको प्रक्रिया अघि बढाइएको जानकारी दिनु भयो । उहाँका अनुसार अहिले कार्यालयमार्फत नवीकरणका लागि दर्ता गर्ने र केन्द्रबाट आएपछि स्मार्ट लाइसेन्स वितरण गरिने छ ।

यसअघि उक्त कार्यालयले नयाँ सवारी दर्ता, नामसारी, ब्लुबुक नवीकरण, जाचपाँस, रुट परमिट जारी, रुट नवीकरण, सवारी कर संकलन लगायतका सेवा दिँदै आएको थियो । विराटनगरबाटै सेवा सुरु भएपछि लाइसेन्स नवीकरणका लागि सुनसरीको इटहरीसम्म जानुपर्ने सेवाग्राहीको बाध्यता हटेको छ । विराटनगरसहित मोरङका विभिन्न ठाउँका सवारी चालक लाइसेन्स नवीकरणका लागि इटहरीसम्म पुग्नुपर्ने बाध्यता थियो । प्रदेश १ मा यसअघि इटहरी, उदयपुर, इलाम, धनकुटा, ओखलढुंगा र झापामा मात्रै लाइसेन्स सम्बन्धी सेवा सेवा सञ्चालनमा थियो ।

यसैबीच सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएर विराटनगरबाटै नयाँ लाइसेन्स वितरणको प्रक्रिया पनि चाँडै अघि बढाइने भएको छ । त्यसका लागि यातायात व्यवस्था सेवा कार्यालयले १५ दिने सूचना जारी गर्दै प्रशिक्षण केन्द्रका लागि आह्वान गरिसकेको छ । नयाँ लाइसेन्स जारी गर्न कार्यालयको मातहतमा प्रयोगात्मक परीक्षा (ट्रायल सेन्टर)स्थल छैन ।

ट्रायल सेन्टरका लागि मापदण्ड पुगेको निजी सवारी चालक प्रशिक्षण केन्द्रलाई आह्वान गरिएको कार्यालय प्रमुख भट्टराईले बताउनु भयो । समय अनुकूल भएमा साउन १ गतेबाट नयाँ लाइसेन्स वितरणको प्रक्रिया अघि बढाउने तयारी छ ।

‘सेवाग्राहीको सहजताका लागि साउन १ गतेदेखि ‘क’ र ‘ख’ वर्गको लाइसेन्स वितरणको तयारी छ,’ भट्टराईले भन्नु भयो, ‘सुरुमा मोपेड, स्कुटर, मोटरसाइकल, कार, जीप, डेलिभरी भ्यान, टेम्पो, सीटी सफारी, ट्याक्टरसमेतका सवारीसाधनको लाइसेन्स वितरण हुने छ ।’