
विराटनगर २८ माघ। नेपाल स्काउट, कोशी प्रदेश समितिको आयोजनामा माघ २५ गतेदेखि सुरु भएको तीन दिने चौथो प्रादेशिक ज्याम्बोरेट सम्पन्न भएको छ ।
आज स्काउटका प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीको अध्यक्षतमा भएको समापन कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, नेपाल स्काउटका राष्ट्रिय सहप्रमुख आयुक्त किरण गिरी, राष्ट्रिय सामुदायिक विकास आयुक्त सुदर्शन भट्टराई, राष्ट्रिय कार्यकारी सदस्य रवि खनाल, नवल प्रसाद उपाध्याय लगायत विभिन्न प्रदेशका प्रमुख आयुक्तहरुको सहभागिता रहेको थियो ।
स्काउटका पूर्व संयोजक लोकबहादुर भण्डारी, राष्ट्रिय युवा परिषद अध्यक्ष पुकार ढकाललगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा प्रदेश सुशासन, स्रोत विकास तथा वित्त आयुक्त समर्पण खतिवडाले स्वागत मन्तव्य राख्दै स्काउटका कामका विषयमा जानकारी गराएका थिए ।
ज्याम्बोरेटमा कोशी प्रदेशका ७० भन्दा बढी स्थानीय तहका स्काउटहरु र स्काउटरहरु र अन्य ६ वटा प्रदेशवाट प्रतिनिधिमुलक रूपमा सहभागिता रहेको थियो । कार्यक्रममा तीन हजार जना बढीको सहभागिता रहेको थियो
४ दिनसम्म संचालित ज्याम्बोरेटमा विभिन्न सहासिक, मनोरञ्जनात्मक , बौद्धिक , अध्यात्मिक क्रियाकलापहरुको संचालन गरिएको थियो। कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट प्रतियोगी तथा स्थानीय तहलाई पुरस्कृत समेत गरिएको स्काउटका कोशी प्रदेश प्रमुख आयुक्त भण्डारीले बताए ।
नेपाल स्काउटको वृद्धि र विकासमा योगदान गरेका स्काउट लिडरहरुलाई पनि सम्मानित गरिएको उनले बताए ।