
विराटनगर २८ माघ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले ताप्लेजुङ्गको पाथीभरामा केबलकार निर्माणमा देखिएको समस्या वार्ताद्वारा समाधान गर्नुपर्ने बताउनु भएको छ ।
राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरद्वारा आज विराटनगरमा आयोजित मानवअधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो स्थानको विवाद व्यवसायिक र पहिचान पक्ष भएकोले एकअर्कालाई सम्मान गरी मिलेर समस्या समाधान गरी जान सम्बन्धित पक्षहरुलाई आग्रह गर्नु भयो ।
अध्यक्ष मगरले यस सम्बन्धमा आयोगले उक्त स्थानमाभएका घटनाका सम्बन्धमा अनुगमन गरी विज्ञप्ति समेत जारी गरेको जानकारी गराउनु भयो । अध्यक्ष मगरले मानवअधिकारको उल्लङ्घन घटनाको आयोगको कारवाहीको सिफारिशलाई सरकारले कार्यान्वयन गरिरहेको धारणा राख्नु भयो ।
अध्यक्ष मगरले आयोग मुलुकमा मानवअधिकारको संरक्षण,प्रवद्र्धन, सम्वद्र्धन गर्न प्रतिवद्ध रहेको विचार राख्नु भयो । कार्यक्रममा आयोगका सचिव मुरारीप्रसाद खरेल र प्रदेश कार्यालयका प्रमुख बीरबहादुर वुढामगरले आयोग प्रत्येक घटनाप्रति जानकारी रहेको र अनुसन्धान गरी कारवाहीका लागि प्रभावकारी ढङ्गले कार्य गरिरहेको विचार राख्नु भयो ।