
विराटनगर २७ माघ । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा २५ प्रतिशत बजेट खर्च गरेको छ । संघीय सरकारले सार्वजनिक गरेको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन अनुसार बजेट खर्च गर्ने प्रदेश सरकारहरु मध्ये कोशी प्रदेश उत्कृष्ट देखिएको छ ।
चालु आर्थिक वर्ष २०८१–८२ को ६ महिनामा समग्र प्रदेशहरूको बजेट खर्च निराशाजनक देखिएपनि प्रदेशगत रुपमा कोशी राम्रो देखिएको छ । पुस मसान्तसम्ममा कोशी प्रदेशको बजेट खर्च २४.८५ प्रतिशत छ । चालु आवका लागि कोशी प्रदेशले ३५ अर्ब २७ करोड ९३ लाखको बजेट ल्याएकोमा आठ अर्ब ७६ करोड ८२ लाख बराबर खर्च गरेको छ ।
सरकारले सार्वजनिक गरेको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन अनुसार हालसम्म प्रदेश सरकारहरुको बजेट खर्च वार्षिक लक्ष्यको १६.१८ प्रतिशत मात्रै छ । कुल रु. दुई खर्ब ७८ अर्ब ६९ करोड २४ लाखको बजेट ल्याएका प्रदेश सरकारले गत पुस मसान्तसम्ममा रु. ४५ अर्ब नौ करोड ३८ लाख बराबर मात्रै खर्च गरेका हुन् ।
चालु आवका लागि बागमती प्रदेशले सबैभन्दा ठुलो आकारको बजेट ल्याएको थियो । कुल ६४ अर्ब ५४ करोड चार लाख बराबरको वार्षिक बजेट ल्याएको बागमती प्रदेशले समीक्षा अवधिसम्म १६.२७ प्रतिशत अर्थात १० अर्ब ५० करोड २९ लाख बराबर मात्रै खर्च गरेको छ ।
अर्धवार्षिक समीक्षा अवधिको मूल्यांकनमा मधेश प्रदेशको बजेट खर्च सबैभन्दा कमजोर देखिएको छ । चालु आवका लागि कुल ४३ अर्ब ८९ करोड २२ लाखको बजेट ल्याएको मधेश प्रदेशले पुस मसान्तसम्ममा दुई अर्ब ४६ करोड दुई लाख मात्रै खर्च गरेको छ । यो वार्षिक विनियोजनको ५.६१ प्रतिशत हो ।
सुदूरपश्चिम प्रदेशले अर्धवार्षिक समीक्षा अवधिसम्ममा वार्षिक विनियोजनको १४.८२ प्रतिशत मात्रै खर्च गरेको छ । कर्णाली प्रदेशले १५.१४ प्रतिशत खर्च गरेको छ । लुम्बिनी प्रदेशले कुल ३८ अर्ब ९७ करोडको वार्षिक बजेट ल्याएकामा समीक्षा अवधिसम्म १९.३६ प्रतिशत अर्थात सात अर्ब ५३ करोड ६१ लाख बराबर खर्च गरेको छ । गण्डकी प्रदेशको बजेट खर्च वार्षिक विनियोजनको १९.३६ प्रतिशत छ ।
मधेश र लुम्बिनीबाहेक सबै प्रदेशले चालु आवका लागि वित्तीय व्यवस्था शीर्षकमा बजेट ल्याएका थिए । वित्तीय व्यवस्था शीर्षकको सबै प्रदेशको बजेट खर्च शून्य छ ।