
विराटनगर २५ माघ । मोरङ केराबारी गाउँपालिका ३ का वडाध्यक्षको भैसी मरेपछि पशुपंक्षी शाखाका प्रमुखलाई कार्यालयमा हाजिर गर्न रोक लगाईएको छ । गलत तरिकाले औषधि खुवाउँदा वडाध्यक्षको भैँसी मरेको भन्दै पशुपन्छी शाखा प्रमुखलाई काम काजमा रोक लगाइएको हो ।
उपचार गर्ने क्रममा भैँसी मरेपछि कामकारबाहीमै रोक लगाएर पशुपंक्षी शाखाका प्रमुख सहदेव साहमाथि गाउँपालिकाले छानबिन अघि बढाएको हो । साहलाई बिहीबारबाट गाउँपालिकामा हाजिर गर्न रोक लगाइएको छ । केराबारी गाउँपालिका–३ का वडाध्यक्ष रामचन्द्र शाहीको भैँसी मरेको थियो । भैँसी गत मंगलबार मरेको हो ।
वडाध्यक्ष शाहीले दुई पक्षलाई राखेर छलफल गराई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गर्दै गाउँपालिका र इलाका प्रहरी कार्यालय केराबारीमा निवेदनसमेत दिनु भएको छ । प्रहरीमा शुक्रबार छलफल भएको थियो । तर, छलफलका क्रममा साहले आफूबाट कुनै गल्ती नभएको बताउनु भएको थियो । वडाध्यक्ष शाहीले भने पशुपन्छी शाखा प्रमुख साहको लापरबाहीले आफ्नो भैँसी मरेको बताउनुभयो । ‘घरमा १ महिना ७ दिनको सुत्केरी भैँसी थियो । दैनिक १२ लिटरसम्म दूध दिन्थ्यो ।
नाम्लेको लक्षण देखिएपछि गाउँपालिकाबाटै पशु स्वास्थ्यकर्मी झिकाएर देखायौं । औषधि खान दिए । तर, भैँसी मर्याे,’ उहाँले भन्नुभयो । भर्खरै ब्याएको भैँसी मर्दा आफूलाई १ लाख ४० हजार रूपैयाँ बराबरको नोक्सान भएको शाहीले बताउनुभयो ।
छानबिनका लागि गाउँपालिकाको कृषि तथा सहकारी शाखा प्रमुख टेकप्रसाद बाँस्तोलाको संयोजकत्वमा पशु प्राविधिक र जनप्रतिनिधिसहितको ३ सदस्यीय समिति गठन गरिएको छ ।