
विराटनगर,२२ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ ।
प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा प्रदेश खोप समन्वय समिति सचिवालयद्वारा पाठेघर मुखको क्यान्सर विरुद्धको एच पी भी खोपको कोशी प्रदेशस्तरीय अभियानको सुनसरी जिल्लाको बर्जु गाउँपालिका वडा नं २ स्थित श्रीराम सिता माध्यमिक विद्यालयमा आज शुभारम्भ गर्दै उहाँले सीमित स्रोत साधनको बावजुद नागरिकको स्वास्थ्यप्रति सम्वेदनशील भएर विभिन्न स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु सञ्चालन गरिएको बताउनु भयो ।
मुख्यमन्त्री कार्कीले मुलुकको दिगो विकास हासिल गर्ने सन्दर्भमा मानवीय स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता भएको सन्दश प्रारम्भ गर्न सन् २०३० सम्म महिलाको पाठेघर मुखको क्यान्सर निराकरण गर्न आजदेखि खोप अभियान शुरु गरेको जानकारी दिनुभयो ।
महिलाको पाठेघर मुखको क्यान्सरको स्थिति भयाभय बन्दै गएको अवस्थामा यसलाई पूर्ण नियन्त्रण गर्दै अगाडि वढ्न आजदेखि शुरु गरिएको खोप अभियान कोशेढुङ्गा सावित हुने र यो हाम्रो लागि सुखद दिन भएको बताउनु भयो ।
मुख्यमन्त्री कार्की सरकार प्रसुती महिलाको जीवन रक्षा गर्न सङ्कल्प रहे अनुसार हवाई सेवामार्फत सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो । उहाँले बालबालिकालाई सम्पूर्ण खोप दिनका लागि आवश्यक अनुगमन गर्ने कार्य शुरु गरिएको जानकारी दिदै आगामी दिनमा यस क्षेत्रमा बालवालिका खोपबाट वन्चित नहुने विश्वास व्यक्त्त गर्नुभयो ।
स्वास्थ्य मन्त्री भूपेन्द्र राईले मानिसको पहिलो घर पाठेघर भएको यसको सुरक्षाका लागि खोप अभियान शुरु गरेको बताउनु भयो।
उहाँले अभियानबाट कोही पनि बालिका एवं किशोरी बन्चित हुन नदिनका लागि आवश्यक सम्बन्दनशिल हुन स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो ।
स्वास्थ्य मन्त्रालयकी सचिव राधिका थपलियाले सन् २०३० सम्ममा पाठघर मुखको क्यान्सर निवरण गर्न लक्ष्य अनुसार कार्य गरिरहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभाका सदस्य रामदेव यादव र मन्त्रालयका अतिरिक्त सचिव डा टङ्क वाराकोटीले विद्यालय वाहिरका किशोरीहरुलाई खोप मार्फत विद्यालयसँग जोड्न सुझाव दिनुभयो ।
प्रदेशमा आजदेखि फागुन ४ गतेसम्म सञ्चालित खोप अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने दुई लाख २० हजार पाँच सय ८४ र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका ४५ हजार ३३४ जना गरी जम्मा दुई लाख ६५ हजार नौ १८ जना बालिका एवं किशोरी रहेको छन्।