विराटनगर, १९ जेठ । स्थानीय तहको निर्वाचनमा एकल बहुमत जितेको नेपाली काँग्रेस आन्तरिक विवादको कारण मोरङको बुढीगंगा गाउँकार्यपालिका निर्वाचनमा पराजित भएको छ ।
गाउँपालिकाका निर्वाचित भएका ३७ जनप्रतिनिधिमध्ये अध्यक्ष, उपाध्यक्ष, ५ वडाध्यक्षसहित २२ जना काँग्रेसबाट निर्वाचित भएका थिए । यस्तै नेकपा एमालेबाट १ वडाध्यक्षससहित १० जना र माओवादी केन्द्रबाट १ वडाध्यक्षसहित ५ जना निर्वाचित भएका थिए ।
गाउँकार्यपालिकामा पनि डा. शेखर कोइराला पक्षले एकलौटी उम्मेदवार बनाएको भन्दै काँग्रेसको अर्काे समूहबाट कार्यपालिकामा बागी उम्मेदवार खडा भएका थिए । विहीबार भएको कार्यपालिका निर्वाचनमा काँग्रेसका बागी उम्मेदवार ३ जना, माओवादी केन्द्रका १ जना र एमालेका १ जना निर्वाचित भएका छन् । काँग्रेसका आधिकारिक उम्मेदवार १ जनाले मात्र जित निकालेका छन् । कार्यपालिकामा निर्वाचितबाट ४ जना र अल्पसंख्यक तथा दलितबाट २ जनाको लागि निर्वाचन भएको थियो । महिला कोटामा एमालेका १, माओवादीका १, काँग्रेसका बागी १ र एक जना काँग्रेस उम्मेदवार विजयी भएका छन् ।