धरान, १९ माघ । सुनसरीको धरानस्थित पूर्वाञ्चल क्याम्पसमा यस वर्ष पनि राष्ट्रिय प्राविधिक महोत्सव डेल्टा ५.० जारी छ । कृषि र नविनताका लागि प्रविधि विषयवस्तुमा आधारित यो महोत्सव माघ २० गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवको औपचारिक उद्घाटन माघ १८ गते पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । विज्ञान र प्रविधिको प्रवद्र्धन तथा नवप्रवर्तनशील सोचलाई अघि बढाउने उद्देश्यले आयोजित यस कार्यक्रमका प्रमुख प्रतिस्पर्धा तथा प्रदर्शनीहरू माघ १९ र २० गते हुनेछन ।
कार्यक्रममा गोकार्ट रेसिङ, रोबोटिक फाइट, रोबोटले मार्ग पत्ता लगाउने प्रतिस्पर्धा, सुधारिएको ग्रिनहाउस डिजाइन, कोड कम्पिटिसन, भवन निर्माण प्रतियोगिता, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स उपकरण निर्माण, र इन्जिनियरिङ प्रोजेक्ट जस्ता विभिन्न विधाका गतिविधिहरू समावेश छन ।
पूर्वाञ्चल क्याम्पसका विद्यार्थीहरू तथा प्रविधि क्षेत्रका विज्ञहरूको विशेष उपस्थितिमा आयोजना हुने यो महोत्सव प्रविधिको विकासमा टेवा र्पुयाउने विश्वास गरिएको छ । साथै, समुदायमा वैज्ञानिक सोच र प्रविधिप्रति रुचि अभिवृद्धि गराउने लक्ष्य लिइएको आयोजकले जनाएका छन ।
विज्ञान तथा प्रविधिमा रुचि राख्ने सबैलाई महोत्सवमा सहभागी भई नवीनतम आविष्कार र प्रतिस्पर्धाको अनुभव लिन आयोजक समितिले अनुरोध गरेको छ ।