प्रदेश सरकारहरुले माग गरेका कानुनहरु चाँडै बन्ने : सभामुख घिमिरे

विराटनगर १९ माघ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रदेश सरकारहरुले माग गरेका कानुनहरु चाँडै बन्ने बताउनु भएको छ ।

प्रदेश सरकारहरुले माग गरेका कानुनहरु छिटै निर्माण गर्ने तयारीमा रहेको उहाँको भनाई छ । आज विराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा सभामुख घिमिरेले सो कुरा बताउनु भएको हो । सभामुख घिमिरेले अध्यादेश संसद नभएको समयमा ल्याउन सकिने बताउनु भयो ।

अध्यादेश ल्याउनै नपाईने भन्ने नहुने उहाँको भनाई छ । सभामुख घिमिरेले संसद नभएका समयमा ल्याइएका अध्यादेशहरु संसदमा पेस भएर छलफल हुने बताउनुभयो । उहाँले भन्नुभयो,‘ अध्यादेश सदन नभएको बेला जरुरी परेर ल्याईन्छ । संसद सुचारु भएपछि कि फिर्ता र कि छलफल हुन्छ ।’ सभामुख घिमिरेले विधेयकहरु लामो समय सम्म पारित नहुँदा आलोचना हुने गरेकाले अवधि तोकेर पारित गर्नेबारे छलफल भईरहेको जानकारी दिनुभयो । उहाँले संसदीय समितिमा १४ वटा विधेयक अहिले छलफलमा रहेको बताउनुभयो ।

संसद क्यालेन्डर अनुसार सञ्चालन भईरहेको उहाँको भनाई छ । अधिवेशनभरिकै क्यालेन्डर बनाउने योजना रहेको सभामुख घिमिरेको भनाई छ । उहाँले भन्नुभयो,‘ अधिवेशनभरिकै क्यालेन्डर बनाउन चाँही समस्या होला भन्ने छ ।’