
विराटनगर १९ माघ । प्रेस चौतारीले मोरङ कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार पत्रकार हरिहर नेपाललाई प्रदान गर्ने भएको छ ।
हरेक वर्ष माघ २२ गते प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा वितरण हुदै आएको पुरस्कार यस वर्ष नेपाल टाइम्सका समाचार प्रमुख नेपाललाई दिने निर्णय गरिएको हो । आज मोरङको कानेपोखरीमा बसेको कार्यसमिति बैठकले छनोट समितिले गरेको सिफारिस अनुमोदन गरेको अध्यक्ष चीना थापाले जानकारी दिनुभयो ।
प्रेस चौतारीका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य कमल रिमाल संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो । पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ । पत्रकार नेपालसँग स्काई एफएम, नेपाल वान टिभी, उज्यालो नेटवर्क, नेपाल समाचारपत्र, आर्थिक अभियान, मकालु टिभीमा कार्यगरिसकेको अनुभव छ ।
स्थापना दिवसका दिन विराटनगर एक कार्यक्रमकावीच पुरस्कार वितरण गरिने प्रेस चौतारी अध्यक्ष थापाले बताउनुभयो । यस पुरस्कारबाट यसअघि पत्रकारहरु भक्त राई, कमल रिमाल, शान्ति दाहाल, मिलन के राउत, किशोर बुढाथोकी, घनस्याम भण्डारी, नेत्र पी अधिकारी, सुमन सुस्केरा, दिनेश सुब्बा र रञ्जना अधिकारी पुरस्कत भईसक्नु भएको छ ।