विराटनगर १७ माघ । मोरङ र सुनसरीका विभिन्न कार्यक्रममा सहभागि हुन अहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विराटनगरमा छिन । माघ १४ गते काठमाण्डौंबाट विराटनगर आए लगत्तै उनले विभिन्न भेटघाट तथा औपचारिक कार्यक्रममा सहभागिता जनाईरहेकी छिन् । मोरङ–सुनसरीका कार्यक्रमबाट उनले आफ्नो सक्रियता बढाएकी छिन् । सक्रियताको ‘मोडालिटी’बारे केही नबताएपनि खोपीको देउता जस्तो भएर वस्न नस्कने उनको भनाई छ ।
पूर्वराष्ट्रपति भण्डारी नेकपा एमालेको नेतृत्वमा आउन चाहेको विषयका कारण पनि उनको मोरङ–सुनसरी भ्रमण, भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । एमालेको संगठित सदस्यता नविकरण गरेपछि पूर्वराष्ट्रपति भण्डारी नेतृत्वमा आउन खोजेको धेरैको विश्लेषण छ । एमालेमा पछिल्लो समय किनारामा परेकाहरुले उनलाई पार्टी राजनीतिमा आउन सुझाव पनि दिएका छन् । तत्काल उनले पार्टी राजनीतिमा आउनबारे प्रष्ट नभने पनि संकेत भने गरेकी छिन् ।
राष्ट्रपतिको दुई कार्यकाल सकिएपछि पहिलो पटक विराटनगरमा झण्डै एक साता लामो बसाइँमा रहेकी उनले नेकपा एमाले निकट महिला नेतृ, विद्यार्थी संगठन, बुद्धीजिवीहरु लगायतसँग पनि नियमित भेटघाट गरिरहेकी छिन् । पछिल्लो समय नेकपा एमालेबाट किनारामा परेकाहरु उनीसँगको भेटघाट पछि उत्साहित पनि बनेका छन् ।
आईतबार देखि विहिबार सम्म उनले एक दर्जन बढी भेटघाट तथा औपचारिक कार्यक्रममा सहभागि भएकी छिन् । मोरङ र सुनसरीका भेटघाट तथा कार्यक्रममा उनले अझै ३ दिन विताउने छिन् । विहीबार सम्म उनलाई भेटेका अधिकांशले पार्टी राजनीतिमा आउन सुझाव दिएका छन् । एक पटक नेतृत्व गर्नै पर्ने अधिकांशको सुझाव छ । केही व्यक्तिहरुले सम्मानित पदमा पुगी सकेकाले पार्टी राजनीतिमा नआउन पनि सुझाव दिए । एमालेको वर्तमान नेतृत्व प्रति उनीसँग भेट गर्ने धेरैले आलोचना गरेका छन् । एमालेमा नेतृत्वको आलोचना गर्नेहरुको स्थान सकिदै गएको, किनारामा पर्ने गरेको बताएका थिए ।
पूर्वराष्ट्रपति भण्डारीले एमालेमा नयाँहरुले अवसर नपाएको भन्दै गुनासो पनि गरेकी छिन् । नयाँ नेताहरुले अवसर पाउन नसक्दा पुरानै नेताहरु नेतृत्वमा रहनु पर्ने अवस्था आएको बताईन । मदन भण्डारी फाउन्डेन, अनेरास्ववियुका नेता कार्यकर्ताहरुसँगको भेटमा उनले यूवाहरु नेतृत्वमा पुग्न नसकेको बताईन । यूवाहरुले अवसर नपाउँदा वैदेशिक रोजगारीमा जानु परेको उनको भनाई छ । सरकारको नेतृत्व गर्नेहरुले यूवालाई स्वदेशमै राख्ने गरिको काम गर्न नसकेमा उनको असन्तुष्टि छ ।
५ दिन सम्मको भेटमा उनले तत्कालै पार्टी राजनीतिमा आउने चाहना नरहेको बताएकी छिन् । उनले हरेक भेटमा आवस्यकता परेको अवस्थामा पार्टी राजनीतिमा आउने संकेत भने गरेकी छिन् । अहिले शिक्षा, सूचना प्रविधि, खानेपानी लगायतका राष्ट्रिय राजनीतिका एजेण्डाहरुलाई प्राथमिकतामा राखेर छलफल, भेटघाटलाई तीव्रता दिएको उनको भनाई छ । वर्तमान राजनीतिमा देखिएको विकृतिलाई टुलुटुलु हेरेर वस्न नसक्ने उनले विभिन्न भेटहरुमा बताएकी छिन् । उनीसँग भेटघाट गरेका एमाले एक नेताले उनको भनाई उधृत गर्दै भने,‘ खोपीको देउता जस्तो भएर वस्न सक्दिन । समय आएपछि देख्नुहुने छ ।’ पूर्वराष्ट्रपति भएर चुप लागेर नबस्ने उनको अधिकांश भेटहरुमा बताउने गरेको पाईएको छ । पूर्वराष्ट्रपति भण्डारीले दलिय राजनीतिबारे अहिले नै सोच नबनाएको आईतबारको पत्रकार सम्मेलनमा पनि बताएकी थिईन । उनले पत्रकार सम्मेलनमा पनि आफ्ना कुराहरु भन्दा पनि तपाइँहरुका सुझाव चाहिएको उनको भनाई थियो । मोरङ सुनसरीमा आएका सुझावहरुबारे काठमाण्डौं फर्किए लगत्तै प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरि जानकारी गराउने उनले कार्यकर्ताहरुलाई बताउने गरेकी छिन् । सक्रियताले काठमाण्डौंमा भुइँचाले गएको बताएकी छिन् ।
को–को सँग भयो भेटघाट
माघ १४ गते विराटनगर ओर्लिए लगत्तै उनले एमालेका केही नेताहरुसँग भेटघाट गरिन । त्यसपछि एमाले निकट महिला संगठन अनेमसंघका कार्यकर्ताहरुसँग भेटघाट गरिन । अनेमसंघ पछि विराटनगरका पत्रकारहरुसँग भेटघाट गरिन । सोही दिन महेन्द्र मोरङ कलेजका यूवा बैज्ञानिक विद्यार्थीसँग भेटघाट गरिन ।
माघ १५ गते विराटनगरका राजनीतिक पार्टीका कार्यकर्तासँग भेटघाट, सुनसरी इटहरी स्थिति जनता माविको स्थापना दिवस तथा भवन उद्घाटन कार्यक्रम, सुनसरीका राजनीतिक पार्टीका कार्यकर्तासँग भेटघाट गरेको श्रोतको भनाई छ । माघ १६ गते विराटनगरमा प्राध्यापक तथा बुद्धिजीवी परिषद्सँग भेटघाट, मनमोहन प्राविधिक विश्वविद्यालय बुढीगंगाको अनुगमन, बुढीगंगामा आयोजित चुडाकवि स्मृति प्रतिष्ठानले आयोजना गरेको वादविवाद तथा सम्मान कार्यक्रममा सहभागि, मदन भण्डारी फाउन्डेसनका कार्यकर्तासँग विराटनगरमा भेटघाट भएको छ । माघ १७ गते मोरङ उर्लाबारी स्थित मदन भण्डारी ट्रमा सेन्टरको अनुगमन, मदन भण्डारी प्रतिष्ठानको अनुगमन कार्यक्रममा सहभागि भएकी छिन् ।
माघ १८ गते शुक्रबार इन्जिनियरिङ कलेज धरानका डेल्टा ५.० पूर्वाञ्चलस्तरिय इन्जिनियरहरुको कार्यक्रममा सहभागिता, सरस्वती मावि, मोरङ झोराहाटको बार्षिकोत्सकमा सहभागिता, एलिट क्लव विराटनगरमा समसामयिक राजनीति विषयमा छलफलको कार्यक्रम तय भएको बताईएको छ । माघ १९ गते पार्टी कार्यकर्तासँग विराटनगरमा भेटघाट, नेपाल टेलिभिजन इटहरीको बार्षिकोत्सव कार्यक्रममा सहभागिता र माघ २० गते सुनसरीका राजनीतिक पार्टीका कार्यकर्तासँग भेटघाट गरि काठमाण्डौं फर्कने तालिका रहेको छ ।