विराटनगर १७ माघ । नेकपा एमालेका नेता जीवन घिमिरेले लेख्नु भएको ‘कमरेड हिजो र आज’ पुस्तकको माघ १९ गते शनिबार विराटनगरमा विमोचन गरिदैछ ।
विमोचनका अवसरमा पुस्तकमा समेटिएका मुख्यपात्रहरुलाई सम्मानित गरिने भएको छ । पुस्तकका मुख्य पात्रहरुलाई जनही र अन्य पात्रहरुलाई सामुहिक रुपमा सम्मान गरिने भएको छ ।
विमोचनका अवसरमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, विराटनगर १ की माधवी रिमाल, रामप्रसाद देवकोटा, हर्क चुम्वे, स्व.रमाप्रसाद रिजाललाई विशेष सम्मान गरिने भएको छ । एमाले उपाध्यक्ष शाक्य काठमाण्डौंमा धनी परिवारमा जन्मिएर पनि तत्कालिन निरंकुशता विरुद्ध लडेको र उहाँको प्रेरणाबाट नेपाली महिलाहरु आन्दोलनमा होमिएको ०४६ सालमा नेकपा माले झापा अध्यक्ष भएर आन्दोलनको नेतृत्व लिएको स्मरणमा सम्मान गरिने लेखक घिमिरेले बताउनुभयो ।
विराटनगर १ की रिमालको घरमा ०४६ को आन्दोलन सफल बनाउन जननेता मदन भण्डारी नेतृत्वमा नेपाली कांग्रेस र एमालेवीच सहमति भएको थियो । सोही अवसरको स्मरणमा उहाँलाई सम्मान गर्न लागिएको हो । ०४६ अघि कांग्रेस र एमालेवीच कुनै पनि विषयमा सहमति हुँदैनथ्यो । त्यसैगरि तत्कालिन नेकपा कोर्डिनेसन कमिटि गठन गरिएको थियो । सो कमिटीका भोलेन्टियर हुनुहुन्थ्यो देवकोटा । जनआन्दोलनका समयको संकल्प गिति अभियानका अभियान्ता सुनसरी धरानका हर्क चुम्वे, ०४६ जनआन्दोलनमा नेपाली कांग्रेसका संयोजक रिजाललाई सम्मान गरिने भएको हो ।
प्रगतिशिल लेखक संघ नेपाल मोरङको आयोजनामा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पुस्तकको विमोचन र मुख्य पात्रहरुलाई सम्मान गर्नु हुने छ । एमाले केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्व मन्त्री घिमिरेले वि.सं २०३६–०४६ सम्मको आन्दोलनलाई समेटेर पुस्तक तयार गर्नु भएको हो ।
पार्टी राजनीतिकसँग जोडिएका घटनाहरु, सो घटनामा संंलग्न करिव ४ सय पात्रहरुका विषयहरु पुस्तकमा समेटिएको लेखक घिमिरेले बताउनुभयो । उहाँका अनुसार ‘कमरेड हिजो र आज’ श्रोत पुस्तकको हो ।
२०३६–०४६ आन्दोलनका समयका पात्रहरुका बारेमा थेसिस गर्न चाहनेहरुका लागि पुस्तक उपयोगी श्रोत हुने घिमिरेको भनाई छ ।