विराटनगर, १९ जेठ । मोरङका नवनिर्वाचित पालिकाका प्रमुख र सुरक्षा निकायका प्रमुखबीच शान्ति सुरक्षा लगायत समसामयिक विषयमा छलफल एवम् अन्तरक्रिया सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षता र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा जिल्ला प्रशासन कार्यालय मोरङमा पहिलो पटक अन्तरक्रियाको आयोजना गरिएको हो । कार्यक्रममा मोरङका १७ मध्ये १४ वटा पालिकाका प्रमुखको उपस्थिति थियो ।
तीनवटा पालिकाका प्रमुख भने अनुपस्थित रहनु भयो । शान्ति सुरक्षामा स्थानीय तहको सहयोग, बढ्दो घरेलु हिंसा, लागुऔषधको दुव्र्यसन, झैझगडा नियन्त्रणका लागि सुरक्षा निकाय र पालिकाबीच समन्वय लगायतका विषयमा छलफल भएको प्रजिअ दाहालले बताउनु भयो । विकास निर्माणमा समन्वय, सहजीकरण, अनुगमन र निगरानी तथा कानुन अनुसार बालुवा, ढुङ्गा, गिट्टी लगायतका नदीजन्य पदार्थको प्रयोग, ठेक्कापट्टा र उत्खननको विषय पनि अन्तरक्रियामा उठान गरिएको छ । प्रजिअ दाहालका अनुसार वन व्यवस्थापन, सामुदायिक वनको संरक्षण, उचित प्रयोग, प्राकृतिक स्रोतको सही सदुपयोग लगायतका विषयमा पनि छलफल भएको छ ।
विपद् व्यवस्थापनमा स्थानीय तह तथा सुरक्षा निकायको भूमिका र विपदको रोकथाम, राहत र पुर्नस्थापनामा समन्वय एवम् सहकार्य हुनुपर्ने कुरामा छलफल भएको छ । शान्ति सुरक्षाको अवस्था मजवुत बनाउनका लागि सहयोग गर्ने र सुरक्षा निकायसँग आवश्यक समन्वय गर्ने प्रतिवद्धता पालिका प्रमुखहरुले जनाउनु भएको छ । प्रभावकारी सेवाप्रवाह, सेवामा सहजीकरण, प्रविधिक मैत्री सेवा, नागरिक मैत्री कानुन निर्माण तथा अभिलेख व्यवस्थापन लगायतका विषयमा समेत छलफल भएको बताइएको छ । भारतसँगको खुला सीमाका कारण आउनसक्ने चुनौतीलाई मध्यनजर गर्दै सीमा क्षेत्रका पालिकाले अवैध ओसारपसार, लागुऔषध नियन्त्रण, अपराधिक गतिविधिको निगरानी र सूचना सम्प्रेषणमा समन्वय एवम् सहकार्यका लागि जोड दिइएको छ । जिल्लाभित्र नयाँ प्रहरी चौकीको स्थापना, पुरानाको स्तरोन्नति, इलाका प्रशासन कार्यालयको स्थापना लगायतका विषयमा छलफल भएको छ । पालिकाका नवनिर्वाचित प्रमुखहरुलाई सुरक्षा निकायका तर्फबाट कार्यकाल सफलताको शुभकामनासमेत दिइएको प्रजिअ दाहालले बताउनु भयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुखमध्ये उर्लाबारीका गङ्गाप्रसाद खरेल, बेलबारीका दिलप्रसाद राई (डिपी), रङ्गेलीका दिलिप बगडिया, पथरीशनिश्चरेका मोहनप्रसाद तुम्वापो, सुन्दरहरैँचाका केदारप्रसाद गुरागाईं, लेटाङका भूपेन्द्रप्रसाद लावती र रतुवामाईका नागेश्वप्रसाद सिंह गनगाई सहभागी हुनु भएको थियो । त्यस्तै गाउँपालिका प्रमुखहरुमध्ये जहदाका जितेन्द्रप्रसाद साह, धनपालथानका जिवछप्रसाद गच्छदार, कटहरीका देवराज चौधरी, केराबारीका सुमन मिरिङचिङ मगर, मिक्लाजुङका बबिकुमार राई र ग्रामथानका जयप्रकाश गच्छदार थारुको उपस्थिति कार्यक्रममा थियो ।
सुरक्षा निकायका तर्फबाट प्रमुख सेनानी अमृत थापा, मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला, सशस्त्र प्रहरी प्रमुख एसपी राजकुमार लामिछाने, राष्ट्रिय अनुसन्धानका प्रमुख बासु सिग्देल लगायतको उपस्थिति थियो । कार्यक्रममा सुनवर्षी नगरपालिका, कानेपोखरी र बूढीगङ्गा गाउँपालिकाका प्रमुखको भने उपस्थिति थिएन ।