न्युरो अस्पतालका बरिष्ठ न्युरो सर्जन डा. रोकाको विराट मेडिकल कलेजद्धारा सम्मान, डा. रोकाले विराटनगर छाडे

विराटनगर १६ माघ । बरिष्ठ न्युरो सर्जन डा. यमबहादुर रोकाको विराटनगरबाट विदाई गरिएको छ ।

१५ वर्षबढी न्युरो अस्पताल विराटनगरमा कार्यरत डा. रोकाको आज विराट मेडिकल कलेज टिचिङ अस्पताल बुढीगंगा मोरङ र विराट नर्सिङ होम विराटनगरले संयुक्त रुपमा सम्मान गर्दै विदाई गरिएको छ ।

विराट मेडिकल कलेजमा आयोजित कार्यक्रममा डा. रोकालाई कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सम्मान गर्नु भएको हो । डा. रोकालाई सम्मान गर्दै उहाँले कोशी प्रदेशमा उहाँको अभाव खड्कीरहने बताउनुभयो । उहाँले १५ वर्षको अवधिमा धेरैलाई सेवा दिनु भएको आफुले पनि जानकारी पाएको बताउनुभयो । उहाँले निजी अस्पतालमा सेवा लिन समस्या रहेको वेला–बेलामा आउने गरेकाले आम सर्वसाधारणले पनि सरल तरिकाले सेवा पाउन सकुन भन्नुभयोे ।

विराट मेडिकल कलेज टिचिङ अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले डा. रोकालाई विराटनगरबाट विदाई गर्दा दुःख लागेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ नेपालमा न्यूरोको उपचार नै संभव नभईरहेको बेला विराटनगरमा डाक्टर रोकाका कारण भारत जानुपर्ने बिरामीलाई सहज सेवा पुगेको थियो ।’ उहाँले कुनै एक विशेषज्ञ चिकित्सकले यति धेरै योगदान पुर्याउनु चिकित्सा क्षेत्र मात्रै नभई स्वास्थ्य क्षेत्रमा नै अतुलनिय रहेको बताउनुभयो ।

डा. रोका अनुभवी र धेरै विरामीहरुले भरोसा गरेको चिकित्सक रहेको उहाँले बताउनुभयो । विराट मेडिकल कलेजका न्यूरो सर्जरी विभागिय प्रमुख डा. सुनिल मुनाकोमीले १५ वर्ष अगाडि काठमाडौंसम्म मात्र सीमित रहेको न्यूरो सर्जरी विराटनगरमा विस्तार गर्ने डाक्टर रोकाको योगदानलाई पूर्व क्षेत्रले महत्वपूर्ण मान्नुपर्ने बताउनुभयो ।

सम्मान कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी राजन अधिकारी, कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर वस्नेत लगायतको उपस्थिति रहेको थियो ।