विराटनगर १५ माघ । कोशी प्रदेशका २ लाख ६५ हजार किशोरीहरुलाई एचपीभी (ह्युमन प्यापिलोमा भाईरस) खोप लगाईने भएको छ ।
आगामी माघ २२ देखि फागुन ७ गते सम्ममा विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्राहरु २ लाख २० हजार ५८४ र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका ४५ हजार किशोरीलाई खोप लगाईने प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर वस्नेतले जानकारी दिनुभयो ।
आज स्वास्थ्य मन्त्रालयमा आयोजित प्रदेश पूर्णखोप समन्वय समितिको बैठकमा नियमित रुपमा खोपका रुपमा अघि बढाउने योजना सहित एचपीभी खोप कार्यक्रम शुरु हुन लागेको उहाँले जानकारी दिनुभयो । फागुन ७ गते सम्ममा लक्षित वर्गलाई खोप लगाईसकिने बताउनुभयो । लक्षित समूहका लागि खोप आईसकेको निर्देशक वस्नेतले बताउनुभयो । उहाँका अनुसार ४५ हजार डोज बढी खोप पनि आएको छ ।
सवै खोपहरु जिल्ला–जिल्लामा पुगिसकेको उहाँले बताउनुभयो । एचपीभी पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक भएका स्वास्थ्य निर्देशनालयका खोप अधिकृत भरत भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार पाठेघरको मुखको क्यान्सरबाट नेपालमा हरेक दिन ४ जना महिलाहरुको मृत्यु हुने गरेको छ ।
पाठेघरको मुखको क्यान्सर खोपबाट रोकथाम गर्न सकिने रोग भएको र शुरुको अवस्थामा यसको पहिचान भएमा उपचार गरेर निको हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ एचपीभी र एचआईभी’ एउटै सुनिए पनि दुवै रोग एकै होइनन् । तर दुवै भाईरसहरु यौन सम्पर्कबाट सर्छन ।’
कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. राधिका थपलियाले एचपीभी खोपको राष्ट्रिय अभियानलाई सवै पक्षले सहयोग गर्न आग्रह गर्नुभयो । सवै पक्षको सहयोग भए मात्रै अभियान सफल हुने उहाँले बताउनुभयो ।