
विराटनगर १५ माघ । नेकपा एमाले मोरङको ११ औं जिल्ला अधिवेशनको मिति तय भएसँगै नेतृत्वका लागि दौडधुप शुरु भएको छ । आगामी फागुन १७–१९ सम्म ११ औं जिल्ला अधिवेशन गर्ने जिल्ला संगठन कमिटीको तेश्रो पूर्ण बैठकले निर्णय गरेको छ । सोमबार विराटनगरमा सम्पन्न पूर्ण बैठकले शुक्रबार सचिवालय बैठकको निर्णय अनुमोदन गरको थियो । संगठन कमिटी अध्यक्ष बाबुराम कार्कीले सचिवालय बैठकको निर्णय अनुमोदनका लागि गरेको प्रस्ताव सर्वसम्मतले पारित गरेको थियो ।
कोशी प्रदेशका १३ जिल्लाले अधिवेशन गरिसक्दा पनि मोरङको अधिवेशन मिति तय नभएकोमा आलोचना हुँदै आएको थियो ।
नेकपा एमाले मोरङको आगामी नेतृत्वका लागि चुनाव हुने निश्चित देखिएको नेताहरुको भनाई छ । दुई समूहवीच प्रतिष्पर्धा हुने संकेत देखिएको उनीहरुले बताए । संस्थापन र इतर समूहवीच नेतृत्वका लागि प्रतिष्पर्धा हुने नेताहरुको दावी छ । १० औं जिल्ला अधिवेशन सर्वसम्मत गरेको एमाले मोरङले ११ औं अधिवेशन सर्वसम्मत नहुने देखिएको छ । एमाले मोरङको ७ औं, ८ औं र ९ औं अधिवेशनमा निर्वाचन भएको थियो । १० औं अधिवेशनले ऋषिकेश पोखरेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको थियो ।
आगामी नेतृत्वका लागि संगठन कमिटीका अध्यक्ष बाबुराम कार्की, अजम्वर राई, राजकुमार ओझाको सशक्त दावी छ ।
एमाले मोरङको उपाध्यक्ष हुँदै संगठन कमिटीको अध्यक्षको जिम्मेवारी पाउनु भएका कार्कीले तीव्र रुपमा नेताहरुसँगको भेटघाटलाई बढाउनु भएको छ । गत जेठमा संगठन कमिटीको नेतृत्व सम्हाले देखि पार्टीलाई गतिशिल बनाएको एक पटक अधिवेशनबाट नेतृत्व लिनेगरि उहाँले तयारी अघि बढाउनु भएको श्रोतको भनाई छ ।
जिल्ला समन्वय समिति मोरङको प्रमुखको जिम्मेवारीमा रहनु भएका अजम्वर राईलाई इतर समूहले अघि सार्ने देखिएको छ । राईले पनि जिल्ला अध्यक्षलाई तयारी अघि बढाउनु भएको छ ।
अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने शर्तमा राजकुमार ओझाले पनि जिल्ला अध्यक्षका रुपमा आफ्नो दावी रहने बताउनु भएको उहाँ निकट नेताहरुको भनाई छ । नेताहरुका अनुशार उहाँ चुनावी प्रतिष्पर्धामा जाने सोचमा हुनुहुन्छ । सर्वसम्मत चयनको पक्षमा रहनु भएको छ । चुनावी प्रतिष्पर्धामा सहभागि नहुने ओझा निकट नेताहरु बताउँछन् । कोशी प्रदेशका पूर्व सांसद समेत रहनु भएका उहाँ सर्वसम्मत नेतृत्व चयन गरेर जानु पर्ने बताउँदै आउनु भएको छ ।
एमाले मोरङको अध्यक्षका लागि पर्शुराम वस्नेत, महेश भट्टराईले पनि आन्तरिक रुपमा तयारी गरिरहेको बताईएको छ । वस्नेतले आफु निकटहरुसँग अध्यक्षमा आफ्नो दावी रहने बताउने गरेको पाईएको छ । प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव समेत रहनु भएका वस्नेतले सार्वजनिक रुपमा अध्यक्षमा दावी नगरेको नेताहरुले बताए ।
एमाले मोरङको सचिवमा दुई जनावीच प्रतिष्पर्धा हुने देखिएको छ । संगठन कमिटीका सचिव रविन थापा र सहसचिव सोमराज थापावीच प्रतिष्पर्धा हुने नेताहरुको भनाई छ । सचिव पदका लागि दुई जनाबाहेक अन्यको तयारी नदेखिएको बताईन्छ ।