विराटनगर १४ माघ । माइती नेपाल विराटनगरले विराटनगरका ६ वटा वडाका जनप्रतिनिधिलाई मानव वेचविखन तथा ओसारपसार विरुद्ध अभिमुखीकरण कार्यक्रम गरेको छ ।
माईती नेपालले सीमा क्षेत्रमा मानव बेचविखनमा पर्नबाट जोगाएका तथा उद्धार गरिएकाहरुमा विराटनगरका वडा नं. २, ३, ६, १२, १३ र १४ नम्वर वडाका किशोरी तथा महिलाहरु देखिएपछि सो वडाका वडा सदस्यहरुलाई लक्षित गरि छलफल कार्यक्रम गरिएको माईती नेपालका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो । वडा सदस्यहरु वडाका घर–घरमा पुग्ने भएकाले उहाँहरुलाई लक्षित गरि सचेतनामुलक कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
पछिल्लो समय मानव वेचविखनका घटनाहरुको स्वरुप परिवर्तन भएको माइती नेपालकी मनोपरामर्शकर्ता गीताञ्जली शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘ मानव बेचविखनका घटनाहरु कम भएको छैन । अहिले स्वरुप परिवर्तन भएको छ ।’ सामाजिक सञ्जालको प्रयोगबाट मानव वेचविखनका घटनाहरु हुने गरेको बताउनुभयो । सन् २०२४ मा सीमा क्षेत्र रानी विराटनगरबाट बेचविखनमा पर्न लागेका किशोरी र महिलाहरु गरि २१८ जनालाई फर्काईएको बताउनुभयो । मोरङका मात्रै ७६ र ७ जना विराटनगरका बालिकाहरु रहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा वडा नं ३ का वडा सदस्य सुरज न्यौपानेले माइती नेपालले विद्यालयहरुमा पनि गएर वालक र वालिका सवैलाई सहभागिता गराएर सचेतनामुलक कार्यक्रम गर्न आवस्यक रहेको बताउनुभयो । सचेतनामुलक कार्यक्रमका लागि आफुले पनि पहल गर्ने बताउनुभयो । वडा नं २ का सदस्य शेरसिंह दुगडले अभिभावकहरुलाई पनि सचेत गराउन आवश्यक रहेको बताउनुभयो । सचेतनामुलक कार्यक्रममा बालिकाहरुसँगै अभिभावकहरु पनि राख्न सुझाव दिनुभयो ।
कार्यक्रममा विराटनगरमा महानगरपालिका, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यलय, वाल हेल्पलाईन मोरङ्ग, सिवीन नेपालका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।