विराटनगर १३ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचनाको हकले मुलुकको शासन प्रणालीलाई पारदर्शी बनाउने बताउनु भएको छ ।
राष्ट्रिय सूचना आयोग काठमाण्डौद्वारा आज विराटनगरमा आयोजित प्रदेशस्तरीय सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले सूचनाको हकले मुलुकमा सुशासन कायम गर्नुका साथै राष्ट्रले तय गरेका रणनीतिक लक्ष्य प्राप्त गर्न सहयोग पुग्ने धारणा राख्नु भयो ।
मुख्यमन्त्री कार्कीले संविधानले प्रत्याभूत गरेको सूचनाको हकको पहँच आम जनतासम्म प्रभावकारी ढङ्गले पुर्याउन आयोगको महत्वपूर्ण भूमिका रहने विचार राख्नु भयो । उहाँले तीन तहका सरकारका कार्यालयहरुले व्यवस्थित रुपमा सूचना हक सम्बन्धी कार्य गरेमा वान्छित सफलता प्राप्त गर्न सकिने धारणा राख्नु भयो । मुख्यमन्त्री कार्कीले भन्नु भयो,‘ लोकतान्त्रिक शासन प्रणालीको महत्वपूर्ण कार्य भनेको सरकारले गरेका कामहरुको सूचना नागरिकले सहज र सरल रुपमा प्राप्त गर्नु हो ।’ उहाँले प्रदेश सरकार अन्तर्गतका सम्पूर्ण कार्यालयमा सूचना अधिकारी नियुक्त गरिएको जानकारी दिँदै प्राप्त सूचनाको गलत दुरुपयोग गर्ने कार्यलाई कानुनी कारवाही गर्ने व्यवस्था रहेको विचार राख्नु भयो ।
प्रमुख सूचना आयुक्त डा सुरेशप्रसाद आचार्यले सूचना अधिकारीले जिम्मेवारी पूर्वक कानुनले तोके अनुसार सूचना दिनु पर्नेमा जोड दिनुभयो । उहाँले सूचना अधिकारीले सूचना दिन आलटालमा गरेमा दण्डती हुने भनेको अरु नभएर अधिकारी नै हुने छन् भन्नु भयो । प्रदेशमा प्रमुख सचिव केदारनाथ शर्माले सूचना माग्ने र दिनेको नियत सफा हुनुपर्छ भन्दै प्रत्येक तीन÷तीन महिनामा गरेका कामहरुको सूचना वेभसाइटलमा प्रकाशन गरेमा सहज हुने विचार राख्नु भयो ।
आयोगका आयुक्त गगन विष्टले सुचनाको अधिकारःलोकतन्त्रका आधार विषयक कार्यपत्र प्रस्तुत गर्दै सार्वजनिक निकाय पारदर्शी हुनु आयोगको मान्यता रहेको बताउनु भयो । प्रदेशका उपसचिव अर्जुन निरौलाले सूचनाको हक कार्यान्वयनको अवस्था ःमुख्यमन्त्री कार्यालय विषय कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।