विराटनगर, १७ जेठ । विराटनगरस्थित एयरपोर्ट रोडका डेढ दर्जन हरिया रुख काटेर सडक (रोड) ब्युटिफिकेसनको काम अघि बढाएको पाइएको छ ।
ब्युटिफिकेसनका नाममा वर्षौ लगाएर हुर्काइएका अशोक लगायत अन्य प्रजातिका हरिया रुख काटेर प्राकृतिक विनाश गर्न खोजिएको भन्दै विरोध सुरु भएको छ । जरैसित रुखहरु काटेर सडकको दक्षिण र उत्तरतर्फ अग्लाअग्ला फलामका खाँबाहरु गाड्ने काम भइरहेको छ । सडकको दुईतिर फलामका खम्बा राखेर सडकमाथि पारदर्शी छत हाल्ने योजनाका साथ विराटनगर महानगरपालिकाले उपभोक्ता समितिमार्फत सडक ब्युटिफिकेसनको काम अघि बढाएको हो । अहिले खम्बा गाडेर छानो अड्याउन धमाधम अर्धवृत्ताकारका फालमे बार जडान गर्ने काम भइरहेको छ ।
९६ लाख १२ हजार तीन सय २९ रूपैयाँ बराबरको लागत रहेको योजना २०७९ जेठ मसान्तसम्ममा सक्ने लक्ष्य राखिएको छ । यसअन्तर्गत फलामका बारसहित झिलिमिली बत्ती जडान गर्नेदेखि साँझमा घुमफिर स्थल बनाउनेसम्मको योजना छ । एयरपोर्ट रोड ब्युटिफिकेसन उपभोक्ता समितिका अध्यक्ष पून्य भट्टराईले काम तोकिएकै समयमा पूरा गरिने बताउनु भयो । पुराना र बीच बाटो तथा बिजुलीका पोलमुनि परेका रुखहरु हटाएर ब्युटिफिकेसनको काम थालिएको दाबी उहाँको छ । एयरपोर्ट रोडका १८ वटा रुख काटिएको र १६ वटा अन्यत्र सार्ने तयारी रहेको जानकारी भट्टराईले दिनु भयो । तर भट्टराईको दाबी अनुसार रुखले कुनै पनि अवरोध गरेको देखिँदैन ।
अहिले भएका रुख काटिएका ठाउँमा पामको रुख लगाउने योजना रहेको भट्टराईले बताउनु भयो । कोसी लोकमार्गअन्तर्गतको मुख्य सडकदेखि विराटनगर विमानस्थलसम्म पुग्ने यो सडकमा प्लास्टिकका ब्लक हालेर टनेल शैलीमा सौन्दर्यकरण गर्ने योजनाअनुरुप चालु आर्थिक वर्षकै कार्यक्रममा बजेट छुट्याइएको थियो । साँझपख परिवारका सदस्यलाई घुम्न सहज होस् भनेर चिटिक्क पार्न लागिएको भट्टराईले दाबी गर्नु भएको छ । पहिलो चरणमा टनेल र लाइटिङको काम गर्ने, दोस्रो चरणमा आकर्षक पेटी बनाउने र तेस्रो चरणमा रङरोगन गर्ने योजना रहेको उहाँले बताउनु भयो ।
सडकको पूर्ण सौन्दर्यकरणका लागि भने साढे तीन करोड बढी खर्च हुने बताइएको छ ।