वर्तमान सरकार भ्रष्टाचार अन्त्यका लागि निर्माण भएको हो : अर्थमन्त्री पौडेल

विराटनगर १२ माघ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान गठबन्धन सरकार तस्करी,कुशासन, भ्रष्टाचार नियन्त्रण गर्न निर्माण भएको बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले हामी कालो बजारी, तस्करी , कमिशनतन्त्र नियन्त्रण गर्ने कार्यमा प्रभावकारी ढङ्गले कार्य गरिरहेको प्रष्ट पार्नु भयो । अर्थमन्त्री पौडेलले भन्नु भयो,‘ नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकार निर्माण पश्चात मुलुकमा आर्थिक सुधार भइरहेको तथ्याङक र आर्थिक परिसुचकबाट देखिन्छ ।’

अर्थमन्त्री पौडेलले निर्माण व्यवसायिहरु सबै बाँकी रकम भुक्तानी भएको छ भन्दै व्यवसायीहरुले निर्माण गरेका कामहरुको रितपूर्वक माँग भएमा भुक्तानी नरोकिने प्रष्ट पार्नु भयो । उहाँले वर्तमान सरकार विस २०८४ सम्मको सहयात्रा का लागि भएको हो भन्दै सरकार ढल्ने भन्ने जस्ता वजारुहल्लामा कुनै सत्यता नभएको प्रष्ट पार्नु भयो ।

एक प्रश्नको जवाफमा अर्थमन्त्री पौडेलले सरकारले पुँजीगत खर्चमा उल्लेखनीय सुधार गर्दै गइरहेको छ । उहाँले विगतमा जनतामा रहेको निराशालाई वर्तमान सरकारले चिर्दै आशा जगाउने कार्य गर्दै आगाडि अगाडि वढिरहेको विचार राख्नुभयो ।