
विराटनगर ११ माघ । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि नेपाल राष्ट्र बैंकले तयार पारेको निर्देशन र मापदण्डको प्रारम्भिक मस्यौदाका विषयमा कोशी प्रदेश सहकारी संघ लिमिटेडको आयोजना र जिल्ला सहकारी संघ लिमिटेड मोरङको संयोजनमा विहीबार विशेष छलफल आयोजना गरिएको छ ।
संघका अध्यक्ष डा. डिल्ली पोखरेलको अध्यक्षतामा आयोजित छलफलमा बिभिन्न विषयगत सहकारी संघका प्रतिनिधिहरु, राष्ट्रिय सहकारी बैंक, जिल्ला संघका संचालकहरु, सल्लाहकारहरु र बिभिन्न प्रारम्भिक सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरूप नीति तथा मापदण्डहरू तयार गर्न सम्बन्धित पक्षलाई सहयोग पुर्याउने उद्देश्यका साथ भएको अध्यक्ष पोखरेल बताउनुभयो । नेपाल राष्ट्र बैंकले मस्यौदामाथि राय–सुझाव प्रस्तुत गर्न माघ मसान्तसम्मको समय सीमा निर्धारण गरेको छ । अध्यक्ष पोखरेलले कोशी प्रदेश को सहकारी अभियान कोतर्फबाट सुझाव संकलन गरी राष्ट्रिय सहकारी महासंघ मार्फत एकीकृत रुपमा नेपाल राष्ट्र बैङ्क मा सुझाव पेश गर्ने बताउनुभयो ।
कार्यक्रम मा सहकारी रजिस्ट्रार हरी बहादुर खत्रीले मस्यौदाका कतिपय बुँदाहरू सहकारी मूल्य, मान्यता र सिद्धान्तविपरीत रहेको बताउँदै मस्यौदामा सुधार आवश्यक रहेको धारणा राख्नुभएको थियो ।
सो अवसरमा कार्यक्रमका सहभागीहरूले सहकारीलाई कसरी खुम्च्याउन सकिन्छ र यसको प्रभाव अनि उपलब्धिलाई कसरी कम गर्न सकिन्छ भन्ने मनसायबाट मस्यौदा आएको भनि आक्रोश समेत ब्यक्त गरेका थिए ।
सुझावलाई अझ ब्यवस्थित बनाउन रामचन्द्र गौतमको संयोजकत्व मा राकेश दाहाल र ओम सुवेदी सदस्य रहेको तीन सदस्य समिति समेत बनाईएको छ । समितिले तीन दिन भित्रमा संघमा सुझाव पेश गर्न समय निर्धारण गरिएको छ । संघले सहकारी अभियानको दीर्घकालीन हितलाई ध्यानमा राख्दै सबै पक्षको रायलाई समेटेर मस्यौदामा समुचित सुझाव प्रस्तुत गर्ने जनाएको छ ।