
विराटनगर १० माघ । चुडाकवि स्मृति प्रतिष्ठान बुढीगंगा मोरङले जिल्ला स्तरिय वादविवाद प्रतियोगिता गर्ने भएको छ । आगामी माघ १६ गते पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा बुढीगंगाा स्थित स्मृति बोर्डिङ स्कुलमा प्रतियोगिता हुने आयोजक चुडाकवि स्मृति प्रतिष्ठानले आज विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
प्रतियोगितामा सामुदायिक र संस्थागतगरि ४८ विद्यालयले सहभागी जनाउन दर्ता भइसकेको र बाँकी विद्यालयहरू गरी ५० बढी विद्यालय सहभागि हुने प्रतिष्ठानकी महासचिव रिता न्यौपानेले जानकारी दिनुभयो । ‘भौतिक पूर्वाधार विकास की सामाजिक पूर्वाधार विकास’ शीर्षकको वादविवाद प्रतियोगितामा उत्कृष्ट पक्ष र विपक्ष दुवै समूहलाई नगद सहित, शिल्ड र प्रमाणपत्र प्रदान गरिने न्यौपानेले जानकारी दिनुभयो । प्रतियोगिताका पक्ष र विपक्षका विजेताले २०/२० हजार, उपविजेताले १५/१५ हजार र तृतीयले .११/११ हजार नगद सहित शिल्ड प्रदान गरिने बताईएको छ ।
प्रतिष्ठानका सचिव सागर बरालले वालवालिकाको नेतृत्व क्षमता विकासको लागि पक्ष र विपक्षको विचमा आफ्नो तर्क बलियो बनाउनकोलागि अभ्यस्त बनाउने उदेश्यले वादविवाद प्रतियोगिता गर्न लागिएको बताउनुभयो । प्रतियोगिताको निर्णायकमा सिस्नु पानी नेपालका सरोज घिमिरे, साहित्यकार तथा लेखक सुविन भट्टराई, शिक्षा क्षेत्रका भेषजा काफ्ले लगायत रहने जनाईएको छ ।
प्रतिष्ठानका महासचिव न्यौपानेले यसअघि स्मृति बोर्डिङ स्कुलको नेतृत्वमा हुँदै आएको यो प्रतियोगिता यस वर्षदेखि चुडाकवि स्मृति प्रतिष्ठानले आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
प्रतिष्ठानले वादविवाद प्रतियोगितासँगै, बुढीगंगा गाउँपालिकामा कार्यरत ३८ जना महिला स्वयंसेविकाहरूलाई समेत सम्मान गरिने प्रतिष्ठानका उपाध्यक्ष मणिराम न्यौपानेले बताउनुभयो ।