प्रदेश १ सरकारद्धारा २८ महिला उद्यमी सम्मानित

विराटनगर, १६ जेठ । प्रदेश १ सरकारले २८ जना महिला उद्यमीलाई सम्मान गरिएको छ । महिला अधिकार दिवसको अवसर पारेर सामाजिक विकास मन्त्रालयले १४ जिल्लाका २८ जना महिला उद्यमीलाई सम्मान गरिएको हो ।

उद्यमीहरुलाई सम्मान गर्दै सामाजिक विकास मन्त्री राजन राईले सबैलाई समान रूपमा अगाडी बढाउनको लागि उद्यम र व्यवसायिक क्षेत्रमा लागेका महिलालाई सम्मान गरिएको बताउनुभयो । महिलाहरूमा अझै असमानता र विभेद रहेको भए पनि हिजोको जस्तो अहिलेको अवस्था नरहेको उल्लेख गर्नुभयो ।

सामाजिक विकास राज्य मन्त्री विष्णु तुम्बाहाम्फेले मन्त्रालय उपलब्ध गराएको रकम बिउ पुँजीको रूपमा केही सहयोग गरी प्रोत्साहन गरिएको बताउनुभयो । महिलाको विषय नीति तथा कार्यक्रममा महिलाको विषय प्राथमिकतामा पर्नु पर्ने बताउनुभयो । संघीय सरकारले प्राथमिकतामा नपरेको भए पनि प्रदेश सामाजिक विकास मन्त्रालयले स्पष्ट रूपमा बजेट नीति तथा कार्यक्रममा महिलाको विषय प्राथमिकतामा राखिने उल्लेख गर्नुभयो । सबै क्षेत्रमा महिलालाई ३३ प्रतिशतको उपस्थिति हुनेगरि कार्यान्वयनमा लग्नु पर्नेमा तुम्बाहाम्फेले जोड दिइन् ।

प्रदेश १ का प्रमुख सचिव डा रामप्रसाद घिमिरेले आफूजस्तै अन्य दिदी बहिनीलाई पनि उद्यमी बनाउन आग्रह गर्नुभयोे । सीपमा आधारित उत्पादन र उद्योगलाई प्रोत्साहन गर्ने राज्यको नीति अनुसारको महिला सशक्तीकरणको अभियानको रूपमा लिइएको उहाँले बताउनुभयो ।

प्रदेश १ का १४ जिल्लाका २–२ जना महिला उद्यमीहरुको छनौट गरि सम्मानित गरिएको सामाजिक विकास मन्त्रालय सामाजिक महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताउनुभयो । उहाँका अनुसार जनही ५० हजार रुपैयाँका दरले सम्मानित गरिएको बताउनुभयो ।