कोशी प्रदेशसभाको छैठौं तथा हिउँदे अधिवेशन आजदेखि शुरु

विराटनगर ७ माघ । कोशी प्रदेशसभाको छैठौं तथा हिउँदे अधिवेशन आजदेखि शुरु भएको छ ।

हिउँदे अधिवेशनको पहिलो बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका प्रदेश समितिका सभापति उद्धव थापामाथि भएको कुटपिट घटना सानो तर अराजक भएको बताउनु भएको छ । उहाँले घटनामा संलग्नलाई कारबाही गर्न सम्बन्धित सुरक्षा निकायलाई निर्देशित गरिएको बताउनुभयो । सदनमा उहाँले पछिल्लो समय प्रदेशमा लागुऔषध प्रयोग, सवारी दुर्घटना र अन्य गतिविधि बढेको पनि बताउनुभयो ।

पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले आफूमाथि आक्रमण भएको विषयलाई उठाउनु भएको छ । आफुमाथि योजनावद्ध रुपमा आक्रमण नभएको बताउँदै उहाँले सुरक्षाको विषयमा प्रदेश संवेदनशील बन्नु पर्ने बताउनुभयो ।

ड्राइभर्सनमा पुगेपछि गाडी रोकेको बताउँदै उहाँले सेक्युरेटीले भिआइपी छन् । साइड किन नदिएको भन्दै आक्रमण भएको बताउनुभयो । ‘भिआइपीलाई साइट दिनु भएन ठिकै छ, तर सडकमा त भिआइपी मात्रै होइन,अरु पनि हिड्छन्, सडकको त नियम पनि हो नि भन्ने कुरा राख्दा मेरो सेक्यरेटीलाई पन्छाएर मलाइ हानेको हो,’उहाँले भन्नुभयो ।

नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले राजनीतिक संयन्त्रले मुख्यमन्त्रीलाई निरिह बनाएको बताउनुभयो । संसद र सरकारले नचिनेको संयन्त्रले सरकारलाई बजेट पुनरावलोकनका लागि निर्देशन दिएको विषय उल्लेख गर्दै उहाँले सो कुरा बताउनुभयो । ‘सदनले नचिनेको, सरकारका कुनै संयन्त्रले नचिनेको जनताबाट पराजित व्यक्तीले संसदको र सरकारको मानहानी हुनेगरी गरको कुरा कम्तीमा यो प्रमुख प्रतिपक्षी दललाई मान्य छैन,’ उहाँले भन्नुभयो ।

राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सरकारले काम गर्न नसके जनताले कठोर निर्णय लिन सक्ने बताउनुभयो ।  सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको बताउँदै उहाँले २०४६ सालयताका राजनीतिक नेतृत्वमा पुगेका व्यक्ती र उच्चपदस्थ कर्मचारीको सम्पति छानविन हुनुपर्ने बताउनुभयो ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एकिकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले प्रदेश सरकारले काम गर्न नसकेको बताउनुभयो । राईले दुई ठूला दल मिलेर बनेको सरकारले काम गर्न नसकेको बताउनु भएको हो ।

विकास निर्माणको काम गर्नलाई सरकारले चासो नदिएको बताउँदै उहाँले भन्नुभयोे,‘ सरकारको हालखबर के छ भनेर सोध्न खोजेको ।’ बजेट कार्यान्वयनका विषयमा सरकारले चासो नदिएको उनले बताउनुभयो । उहाँले सरकारको कार्यशैलीको आलोचना गर्नुभयो ।