विराटनगर ७ माघ । गृहमन्त्री रमेश लेखकले सरकार मुलुकमा पूर्णरुपमा शान्ति सुरक्षा कायम राख्न दृढ संकल्प रहेको बताउनु भएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले अपराधजन्य काम गर्ने मानिसहरुलाई कानून वमोजिम कारवाही गरिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
गृहमन्त्री लेखकले लोकतन्त्रमा पेशागत स्वतन्त्रता हुन्छ भन्दै वहस गरेको कारणले वकिल, इलाज गरेका कारणले चिकित्सकलाई कुटपिट गर्ने कार्य कुनै हालतले सह्य हुदैन र कानुन अनुसार कारवाही गर्ने बताउनु भयो । उहाँले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापालाई केही दिन अगाडि झापामा भएको कुटपिटको घटनाको निन्दा गर्दै दोषीमाथि छानवीन गरी कारवाही गर्ने प्रतिवद्धता समेत व्यक्त्त गर्नु भयो । पत्रकारिताको स्वतन्त्रता कायम गरिनु पर्छ भन्दै गृहमन्त्री लेखकले संविधानमै पूर्ण प्रेस स्वन्त्रताको व्यवस्था भएकाले सञ्चारकर्मीमाथि हुने दवाव धम्कि, तर्साउने कार्य क्षम्य नहुने बताउनु भयो ।
गृहमन्त्री लेखकले भन्नुभयो,‘ मुलुकमा आर्थिक र व्यवसायिक चलायमान गर्न,विदेशी लगानी भित्राउन, सुशासन र पारदर्षिता कायम राख्न, प्रशासन र सार्वजनिक सेवालाई चुस्त एवं दुरुस्त बनाउन सरकारले केही अध्यादेश ल्याएको हो ।’
गृहमन्त्री लेखकले संविधानको संशोधनको छलफल प्रारम्भ भएको छ भन्दै विषयवस्तुको पहिचान गर्ने, संविधानको सवल र दुर्वल पक्ष पहिचान गरी राजनीतिकलहरुसँग छलफल एवं सहमती कायम गरी संशोधनको वैधानिक प्रक्रियामा अगाडि जाने वताउनु भयो ।