
विराटनगर ६ माघ । एभरेष्ट स्कुल विराटनगरमा आजदेखि खेलकुद सप्ताह शुरु भएको छ । विराटनगर स्थित स्कुलले एभरेष्ट कलेजको खेलमैदानमा खेल सप्ताह शुरु गरेको हो । खेलकुद सप्ताहमा कक्षा नर्सरीदेखि ९ सम्मका विद्यार्थीहरुवीच विभिन्न प्रतियोगितामा प्रतिष्पर्धा हुने भएको छ ।
करिब १५ सय विद्यार्थीले विभिन्न खेलकुदमा भाग लिने स्कुलले जनाएको छ । खेलकुद सप्ताहको उद्घाटनका दिन आज विद्यार्थीहरुले विभिन्न खेल कौशलहरु प्रस्तुत गरे भने संगीत र नृत्य प्रस्तुत गरेर अभिभावक तथा उपस्थितहरुलाई मनोरञ्जन दिलाएका थिए । स्काउटको मार्च पास, तेक्वान्दो र कराँतेका विभिन्न कौसलले उपस्थित सबैको ध्यान आकृष्ट गराएको थियो ।
खेल सप्ताहको उद्घाटन कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले एभरेष्ट स्कुल जस्ता विद्यालयका कारण विराटनगर शैक्षिक हब बनेको बताउनुभयो । उहाँले एभरेष्ट स्कुलले दिएको शैक्षिक वातावरण अन्तर्राष्ट्रिय स्तरको भएका कारण अधिकांश अभिभावक र विद्यार्थीको रोजाई बन्न पुगेको बताउनुभयो ।
प्रमुख कोइरालाले अभिभावकले आफ्ना बालबच्चालाई डाक्टर, इन्जिनियर बनाउने सपना मात्र देख्न नहुने भन्दै बालबालिकाको इच्छा र क्षमता अनुसार नै अघि बढ्न दिनुपर्ने बताउनुभयो ।
स्कुलका अध्यक्ष विनोद ढकालले विद्यालय स्थापनाको ३१ औं वर्ष पूरा भएको भन्दै सम्पूर्ण अभिभावक तथा सरोकारवालाको विश्वासले एभरेष्ट स्कुलले देशकै उत्कृष्ट विद्यालयहरु मध्ये एक हुन सकेको बताउनुभयो । उहाँले हाम्रा विद्यार्थी हरेक क्षेत्रमा अब्बल हुनुपर्छ भन्ने मान्यताका साथ सोहि अनुसारको वातावरण तयार गरिएको बताउनुभयो ।
प्रिन्सिपल टिकाराम पुरीले अन्तर्राष्ट्रिय स्तरको शिक्षा विराटनगर प्रदान गर्नुपर्छ भन्ने उद्देश्य आफूहरुको रहेको बताउनुभयो । यसका लागि आवश्यक सम्पूर्ण भौतिक तथा शैक्षिक पूर्वाधार तयार गरिएको उहाँले बताउनुभयो । उहाँले शैक्षिक ज्ञानसँगै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पनि उसैगरी लगानी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी हाम्रो स्तर अब्बल बनाउन हरेक दिनजसो नयाँ–नयाँ विषयहरु अवलम्बन गर्दै आएका छौं, युग सापेक्ष कम्प्युटरको ज्ञान होस् भन्न बेलायतको कोर्ष डीजी स्कुलसँगको सहकार्य होस्, भारतको नयाँ दिल्लीमा सफल अभ्यास गरेको ह्याप्पीनेस करिकुलम नै किन नहोस्, यस्तै आफ्ना विद्यार्थी नैतिक वान बनाउन आफ्नै पाठ्यक्रम देखि बालबालिकालाई अन्वेषण तथा आविष्कारमा लगाउन विभिन्न क्षेत्रसँग सहकार्य गर्दै आएका छौं ।’
उद्घाटन कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड कोशी प्रदेशका प्रमुख दामोदर गुरागाईं, विराटनगर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुङ्गेल, शिक्षा विकास तथा समन्वय ईकाई मोरङका प्रमुख जीवन गड्तौला, प्याब्सन केन्द्रीय उपाध्यक्ष राजेशकुमार दास, प्याब्सन विराटनगर महानगरका अध्यक्ष अर्जुन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।