रास्वापा सभापति लामिछानेलाई धरौटीमा छोड्न आदेश

ढविराटनगर २ माघ । काठमाडौं जिल्ला अदालतले सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छोड्न आदेश गरेको छ ।

लामिछानेलाई ६० लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आदेश दिएको हो ।

काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको मुद्दामा लामिछानेलाई धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो । गत आइतबार अदालतमा उपस्थित भएका लामिछानेको यसबीचमा बयान र थुनछेक बहस भएको थियो ।

लामिछानेमाथि स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेको आरोप छ । विभिन्न जिल्लामा रहेका सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा लामिछानेलाई प्रहरीले पक्राउ गरेर कार्तिक २ गते कास्की लगेको थियो ।

कास्की जिल्ला अदालतले उनलाई ६५ लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।