विराट गोल्डकपको आठौं संस्करणमा २२ लाख घाटा, आगामी प्रतियोगिता फागुन २२ देखि हुने

विराटनगर २८ पुस । कोशी प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद्ले सहमति अनुरुपको रकम उपलब्ध नगराँउदा विराट गोल्डकप फुटबलको आठौं संस्करण नोक्सानीमा गएको छ ।

गतवर्ष चैत्र १५ गतेबाट २२ गतेसम्म सम्पन्न गोल्डकपले २२ लाख ६२ हजार रुपैया घाटा भएको हो । ट्रष्टले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेश सरकार खेलकुद विकास बोर्डले प्रतिवद्धता गरेको २५ लाख र राष्ट्रिय खेलकुद परिषद्ले ५ लाख रुपैयाँ नदिँदा गोल्डकप नोक्सानीमा गएको ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले बताउनुभयो ।

प्रतियोगितामा ८२ लाख ६० हजार ८३५ आम्दानी भएको थियो । कूल खर्च १ करोड ५ लाख २३ हजार ६४३ भएको अध्यक्ष शाहीले बताउनुभयो । उहाँले भन्नुभयो,‘ २२ लाख ६२ हजार ८०८ कूल नोक्सान भयो ।’ प्रदेश सरकारले विराट गोल्डकपसँगै झापा गोल्डकप, बुढासुब्बा गोल्डकप र इटहरी गोल्डकपलाई समेत रकम दिन नसक्दा गोल्डकप आयोजकहरु समस्यामा परेका छन् । विराट गोल्डकप आयोजक ट्रष्टका पदाधिकारीले अझैपनि बजारमा १० लाख रुपैयाँ बढी तिर्न बाँकी रहेको बताउँछन ।

गोल्डकपका लागि आयोजक ट्रष्टले १ करोड १८ लाख ४३ हजार २ सय रुपैयाँ अनुमानित खर्च लाग्ने जनाएको थियो ।

गोल्डकप घाटाका बाबजुत पनि ट्रष्टले नवौं संस्करण आगामी फागुन २२ गतेदेखि गर्ने तयारी गरेको छ । अखिल नेपाल फुटवल संघ (एन्फा) ले विराट गोल्डकपका लागि फागुन २२ गतेदेखि समय तालिका दिएको ट्रष्टका कोषाध्यक्ष अनुज बानियाँले जानकारी दिनुभयो ।