विराटनगर २७ पुस । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले वर्तमान गठबन्धनले संविधान संशोधनलाई प्रभावकारी बनाउन तर्फ लाग्ने बताउनु भएको छ ।
नेपाल प्रजातन्त्र सेनानी सङ्घ कोशी प्रदेशको दुई दिने प्रथम अधिवेशनको शुक्रबार विराटनगरमा उद्घाटन गर्दै उहाँले नेकां र एमाले वीच भएको सात बुँदे सम्झौतामा संविधान संशोधनलाई कामयावी बनाउने उल्लेख भएकोले नआत्तिन आग्रह समेत गर्नु भयो ।
उपसभापति गुरुङले लोकतन्त्रको मुख्य शत्रु भनेको अशिक्षा,अभाव, गरीवी र भ्रष्टाचार भएकोले यस विरुद्ध हामीसबै एक जुट भई लड्नु पर्नेमा जोड दिनु भयो । उहाँले दलका नेता र फरक दलका नेता विरुद्ध तुच्छ एवं गाली गलौच नगर्न आग्रह गर्दै यसले ठूलो बलिदानबाट ल्याएको लोकतन्त्र कमजोर हुने धारणा राख्नु भयो । राणाकाल, प्रजातन्त्र, जनआन्दोलन , लोकतन्त्र र द्वन्द कालमा ज्यान गुमाएका शहीदका परिवारका सदस्यहरुलाई समेट्न सेनानी सङ्घको विधान संशोधन गर्नु पर्ने सुझाव दिनु भयो ।
नेपाल प्रजातन्त्र सेनानी सङ्घका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालले मुलुकमा सुशासन कायम गर्न, विकासलाई स्थायीत्व दिन र पार्टीलाई एकतावद्ध गर्न सेनानीले आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्ने बताउनु भयो ।
सङ्घका प्रदेश सभापति मोहनलाल महतो, कांग्रेस महानगर सभापति दिपक चापागाई,रामदयाल यादव , ललित श्रेष्ठ र मीता आचार्य लगायतले लोकतन्त्र ल्याउन सेनानीको महत्वपूर्ण भूमिका निर्वाह गरेकोले उनीहरुलाई पार्टीमा सम्मानजनक स्थान दिनुपर्ने सुझाव दिनु भएका छन् ।