विराटनगर, १४ जेठ । विराटनगर महानगरपालिकाको कार्यपालिका २९ सदस्यीय हुने भएको छ । विराटनगरमा १९ वटा वडा छन् ।
कार्यपालिकामा रहनेमध्ये मेयर र उपमेयर तथा १९ वडाध्यक्ष गरेर २१ जना वैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट निर्वाचित भइसकेका छन् । त्यसबाहेक ८ जना कार्यपालिका सदस्य निर्वाचनमार्फत चयन हुने छन् । कार्यपालिका सदस्य चयनका लागि जेठ २१ गते निर्वाचन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिनु भयो । उहाँका अनुसार चयन गर्नुपर्ने ८ जना सदस्यका लागि १६ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचनका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच तालमेल भएको छ ।
कांग्रेस र जसपाको प्रतिस्पर्धा एमालेसँग हुने छ । निर्वाचनबाट महिलातर्फ ५ र दलित अल्पसंख्यकतर्फ ३ जना सदस्य चयन हुने बुढाथोकीले बताउनु भयो । कार्यपालिका सदस्यका लागि ५ महिला र १ दलित अल्पसंख्यक गरेर एमालेबाट ६ जनाको उम्मेदवारी परेको छ । ४ महिला सदस्य र १ दलित अल्पसंख्यक गरेर कांग्रेसबाट ५ तथा १ महिला र २ दलित अल्पसंख्यक गरेर जसपाबाट ३ जनाले उम्मेदवारी दिएका छन् ।
२ जना स्वतन्त्रसमेत गरेर कार्यपालिका सदस्यमा १६ जनाको उम्मेदवारी परेको बुढाथोकीले बताउनु भयो । उहाँका अनुसार स्वतन्त्रमा विराटनगर–१३ बाट सञ्जीवकुमार साह र विराटनगर–१८ बाट ओमप्रकाश साहको उम्मेदवारी परेको छ । सञ्जीवले ‘लौरो’ र ओमप्रकाशले ‘लालटिन’ चुनाव चिन्ह पाउनु भएको छ । मनोनयन दर्तासँगै हिजो दुवै जना स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको बुढाथोकीले बताउनु भयो । विराटनगर–५ का नवनिर्वाचित वडाध्यक्ष सन्तोष न्यौपानेले कार्यपालिकामा बहुमत पुर्याउन कांग्रेस र जसपाबीच तालमेल भएको जानकारी दिनु भयो ।
कांग्रेसबाट निर्वाचित न्यौपानेका अनुसार कार्यपालिकामा कांग्रेसले ५ र जसपाले ३ जना सदस्य लिने गरी तालमेल गरिएको हो । सूचना अधिकारी बुढाथोकीका अनुसार ५ जना महिला सदस्यका लागि स्थानीय तह निर्वाचनबाट निर्वाचितहरुले मात्रै उम्मेदवारी दिन पाउने व्यवस्था छ । अल्पसंख्यक दलिततर्फ भने बाहिरबाट पनि उम्मेदवार बन्न पाउने छन् ।
तर प्रस्तावक र साक्षी भने ९७ जनाभित्रबाटै रहनुपर्ने छ । स्थानीय तह निर्वाचनबाट विराटनगरमा एमालेका ४३, कांग्रेसका ४०, जसपाका १०, स्वतन्त्रका ३ र राप्रपाका १ जना गरेर ९७ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।